Rumpum Advertisement

कोरोनासँग मिल्दो लक्षण देखिएका तीनको मृत्यु

Neuro Ad
कोरोनासँग  मिल्दो लक्षण देखिएका तीनको मृत्यु

सप्तरी, २१ साउन । कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीनजनाको सप्तरीमा मृत्यु भएको छ ।

होम क्वारेन्टाइनमा बस्दै आएका एकजना र अस्पतालमा उपचार गराइरहेका दुईजनाको मृत्यु भएको हो । होम क्वारेन्टाइनमा बस्दै आएका पुरुष मेलिसियाबाट आएका हुन् ।

रुपनी गाउँपालिका–५ स्थित गढियामा डेढ महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि मंगलबार उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

यस्तै, छिन्नमस्ता अस्पताल राजविराजमा उपचार गराइरहेका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि उनीहरुलाई उपचारका लागि साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

अन्तिम संस्कार रोकेर स्वाब संकलन

रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको हो ।

मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको उनले जानकारी दिए ।