Rumpum Advertisement

नयाँ मौद्रिक नीति : ०७८ असारसम्म गाभिने बैंकहरुले थप छुट पाउने

Neuro Revised Adv
Koshi Dashain ad
नयाँ मौद्रिक नीति : ०७८ असारसम्म गाभिने बैंकहरुले थप छुट पाउने

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ठूला बैंकहरुलाई एकआपसमा गाभ्ने गाभिने र प्राप्ति प्रक्रियालाई थप प्रोत्साहन गर्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रलाई थप मजबुत बनाउन यसलाई प्रोत्साहन गरिने बताएका हुन् ।

२०७८ असार मसान्तसम्म वाणिज्य बैंकहरुले एकआपसमा गाभ्ने, गाभिने नीतिगत व्यवस्थाअनुरुप संयुक्त कारोबार गरेमा यस्तो कारोबार सुरु गरेको मितिबाट साविकको सुविधाका अतिरिक्त २०७९ असारसम्मका लागि अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट दिने भएको छ ।

राष्ट्र बैंकबाट तोकिएको संस्थागत मुद्दति निक्षेपको संकलन सीमामा ५ प्रतिशतले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजत प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान व्यवस्था लागू नहुने, संस्थागत निक्षेपकर्ताहरुले राख्ने बैंकअनुसारको निक्षेपको सीमा समायोजन गर्ने सम्बन्धमा सम्बन्धित संस्थाहरुसँग समन्वय गरिने गभर्नर अधिकारीले बताए ।

एउटै व्यक्ति समूहद्वारा प्रबर्धित भएका वा अप्रत्यक्ष स्वामित्व नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्न गाभिन आवश्यक व्यवस्था मिलाइने उनले जानकारी दिए । त्यस्तै लघुवित्तहरुलाई पनि मर्जर व्यवस्था प्रोत्साहित गरिने भएको छ ।

कर्जा तिर्ने म्याद ६ महिनादेखि एक वर्षसम्म थप

नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधि रहेकोमा त्यसको म्याद ६ महिनादेखि १ वर्षसम्म थपेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सामान्य प्रभाव परेको क्षेत्रको पुस मसान्तसम्मलाई अल्पकालीन कर्जाको म्याद थप गरिएको जानाकारी दिएका हुन् ।
उनले कर्जाको किस्ता तथा ब्याज तिर्ने अवधि थप गरिएको बताए । मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ ।

अति प्रभावित क्षेत्रलाई कर्जाको म्याद १ वर्ष थप गरिएको छ । त्यस्तै पर्यटन क्षेत्रको भने नयाँ म्याद पनि राख्न सकिने उल्लेख छ ।