Rumpum Advertisement

स्थानीय तहले संयुक्त कोरोना अस्पताल सञ्चालन गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
स्थानीय तहले संयुक्त कोरोना अस्पताल सञ्चालन गर्ने

भजनी, १७ जेठ । कोरोना संक्रमित बढ्न थालेपछि कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहले संक्रमितको उपचारका लागि छुट्टै अस्पताल निर्माणको तयारी थालेका छन् ।

पछिल्लो समय भारत तथा देशभित्रैबाट स्थानीय तहमा आउने नागरिकको सङ्ख्या बृद्धि र सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गएपछि स्थानीय तहका प्रमुखहरुले महामारीको सामना गर्न एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकी, महुन्याल, र बर्दगोरिया गाउँपालिकाले संयुक्तरूपमा सो निर्णय गर्दै टीकापुर अस्पतालको स्तरवृद्धि र सभागृहलाई आइसोलेसन वार्डका रुपमा सबै स्थानीय तहको लगानीमा निर्माण गर्ने निर्णय भएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

सो अस्पतालमा कोरोना भाइरसको सङ्क्रमितका लागि १२ आइसोलेसन कक्ष निर्माण गरिएको छ । सो अस्पतालमा जानकी गाउँपालिकामा देखिएका छ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

सङ्क्रमितको सङ्ख्या थपिएको अवस्थामा अस्पताल एक्लैले केही गर्न नसक्ने भन्दै आगामी दिनको योजनासहित टीकापुर सभागृहमा २५÷३० वार्डको आइसोलेसनकक्ष बनाउने र बाँकी सम्भावित भवनको खोजी गरी तयारी अवस्थामा राख्ने कुरामा स्थानीय तहको सहमति भएको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईँले बताए ।

“टीकापुर भौतिक संरचनाका हिसाबमा ठिक छ । यो महामारीको बेला अन्य गाउँपालिकाले चाहेर पनि संरचना र अन्य कुराको व्यवस्थापन गर्न सक्दैनन्”, उनले भने “चिकित्सकका हिसाबले पनि टीकापुर उत्तम छ । त्यसैलाई मध्यनजर गर्दै महामारीको सामना गर्न हामी कैलालीको पूर्वी क्षेत्रका सात स्थानीय पालिका एक ठाउँमा आएका छौँ ।” रासस