Rumpum Advertisement

कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

सप्तरी, ६ बैशाख । छिमेकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा पनि बसेको पत्ता लागेपछि उनीहरु बसेका क्षेत्रमा शनिबार सिल गरिएको छ ।

कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा उनीहरु बसेका थिए । यही कारण मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताए ।

सप्तकोशी–१ स्थित मस्जिदमा गत फागुन १५ र १६ गते सङ्क्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको वडा सदस्य जाहिर हुसेनले बताए ।

वोदे बर्साइन् नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढीको सहभागितामा धार्मिक सम्मेलन ‘इज्तिमा’ भएको थियो । इज्तिमा पछि ठूलो सङ्ख्यामा जमाती भारतको सभामा भेला भएर धर्म प्रचारका लागि विभिन्न मस्जिदमा गएका थिए ।

पछिल्लो पटक कञ्चनरुप–१ को वैरवास्थित मस्जिद हुँदै सप्तकोशी–१ फत्तेपुरस्थित मस्जिदमा बसेका जमाती नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएका मुस्लिम अगुवाहरुको अनुमान छ ।

गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई मस्जिद पुगेका उनीहरु त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको बताइएको छ ।

कोरोना पुष्टि भएका १२ भारतीय नागरिक वैरवा र फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि दुवै ठाउँका स्थानीयको शनिबार साँझ आरडिटी परीक्षण सुरु गरिएको छ ।

सप्तकोशी–१ का साथै मस्जिद रहेको वडा नम्बर २ र ४ को मस्जिदमा पनि जमाती गएको हुनसक्ने अनुमानमा सो वडासमेत आवतजावत बन्द गरिएको छ ।

वडा नम्बर २ र ४ मा आइतबार आरडिटीबाट परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमित सप्तरीको दक्षिण–पश्चिम रहेको बोदे बर्साइनदेखि उत्तर–पूर्व रहेको कञ्चनरुप र सप्तकोशीको मस्जिदसम्म बस्दै गएको पाइएपछि त्रसित छन् । जमातीहरु भारतबाट सङ्क्रमित भएपछि सप्तरी प्रवेश गरेको भएमा धेरै जनामा सङ्क्रमण फैलिएको हुन सक्ने अनुमानले सप्तरीवासी आतङ्कित बनेका छन् ।