Rumpum Advertisement

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने

Neuro Revised Adv
Koshi Dashain ad
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने

भरतपुर, २१ चैत । भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ ।

परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ ।

परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो ।

अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए ।

युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए ।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको उनले जानकारी दिए ।

यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको हो । रासस