Rumpum Advertisement

भारतबाट फर्किएका तीन नेपालीमा उच्च ज्वरो

Neuro Revised Adv
Koshi Dashain ad
भारतबाट फर्किएका तीन नेपालीमा उच्च ज्वरो

बैतडी, १० चैत । भारतमा काम गर्दै आएका बैतडीका तीन जना नेपालीमा उच्च ज्वरो भेटिएको छ ।

बैतडीको पञ्चेश्वरका ती व्यक्तिहरुलाई कोरोनाका शंकास्पद बिरामी भन्दै एउटा विद्यालयको कोठामा राखिएको छ ।

तीनै जनामा एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो मापन गरिएकाले उनीहरूलाई कैलपाल आधारभूत बिद्यालयको एक कोठामा राखिएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले जानकारी दिए ।

आइतबार रोलघाटबाट नेपाल आएका पञ्चेश्वर गाउँपालिका ४ का तीनै जनालाई चेकजाँच गर्दा उच्च ज्वरो आएको भेटिएकाले अलग कोठामा राखिएको शाहले जानकारी दिए ।

भारतबाट आएका तीन जनमध्ये एक जना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन् ।

तीन जनामा ज्वरो भेटिएकाले सेल्फ क्वारेन्टाइनमा राख्न आग्रह गरेको र सोहीबमोजिम एउटा विद्यालयको कोठामा तीनै जनालाई राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

उनीहरूलाई ज्वरो मात्रै आएको र अन्य लक्षण केही नदेखिएको उनले बताए ।

तीनै जनालाई ज्वरो देखिएकाले १४ दिनसम्म अलगै राख्नुपर्ने र थप जटिलता आएमा तत्काल जिल्ला अस्पातलमा ल्याइने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

पञ्चेश्वर गाउँपालिकाले केही दिन पहिला घाट बन्द गर्ने निर्णय गरेको भएपनि आइतबार भने गाउँपालिकाकै पहलमा एकै पटक ३३ जनालाई भारतबाट नेपाल आउन अनुमति दिएको थियो ।

भारतबाट फर्केकाहरु तीन दिन सम्म घाट किनारमै रहेकाले दुईघण्टाका लागि घाट खोलेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् ।

गाउँपालिका आँफैले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै चर्को आलोचना समेत भएको छ । रासस