Rumpum Advertisement

रेल सञ्चालन गर्न २२६ कर्मचारी थप गर्दै सरकार

Neuro Revised Adv
Koshi Dashain ad
रेल  सञ्चालन गर्न २२६ कर्मचारी थप गर्दै सरकार

काठमाडौं, १६ फागुन । रेल सञ्चालनका लागि सरकारले कर्मचारी थप गर्ने तयारी गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको हो ।

रेल्वे कम्पनीमा हालको जनशक्ति कम भएकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ ।

मन्त्रिपरिषबाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए ।

सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ ।

एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक छ । त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ ।

भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए ।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।रासस