Rumpum Advertisement

मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै

Neuro Revised Adv
Koshi Dashain ad
मिथिला संस्कृति अध्ययन केन्द्र बन्दै

जनकपुरधाम, १५ फागुन । मिथिलाका सबै समुदायको धरोहरसहितको ‘मिथिला संस्कृति अध्ययन केन्द्र’ निर्माणको थालनी गरिएको छ ।

समस्त देवीदेवताको लघुचित्रसहितको देवलोक एवं मिथिलाको पहिचान, संस्कृति झल्किने भवनको नक्सा तयार गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माणको शिलान्याससमेत भइसकेको केन्द्रको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरिने योजना रहेको छ ।

मैथिल ब्राह्मण महासभाद्वारा निर्माण भइरहेको सो केन्द्रको भवन छ तलाको हुने महासभाका अध्यक्ष भगवान् झाले बताए ।

केन्द्रको पहिलो तल्लामा सभागृह, दोस्रो तल्लामा देवलोक र तेस्रो तल्लामा मिथिला सङ्ग्रहालय रहनेछ ।

त्यस्तै भवनको चौथो तलामा पुस्तकालय, सङ्गोष्ठी कक्ष र पाँचौँ एवं छैटौँ तला आवासीय हुने बताइएको छ ।

११ करोडको लागतमा निर्माण हुने सो केन्द्रको भवनका निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले ५ लाख रकम उपलब्ध गराउने र बाँकी रकम चन्दाबाट सङ्कलन गरिनेछ ।

अध्यक्ष झाका अनुसार केन्द्रको सञ्चालनबाट प्राप्त आम्दानीले हरेक वर्ष सबै समुदायका गरिब छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने योजना रहेको छ ।