Rumpum Advertisement

प्रदेश सरकार सङ्घीयता बचाउन सफल : मुख्यमन्त्री राउत

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश सरकार सङ्घीयता बचाउन सफल :  मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सङ्घीयतालाई बचाउन सफल भएको बताएका छन् ।

सरकारको दुई वर्षको उपलब्धिका सन्दर्भमा शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा सङ्घीयता सफल हुने वा असफल हुने कुरा प्रदेश २ को सरकारको सफलता र असफलतासँग प्रत्यक्षरूपमा सम्बन्धित रहेको भन्दै यसलाई जोगाउन प्रदेश २ सरकार सफल भएको बताए ।

उनले संघीयताको भविष्य प्रदेश २ को सफलता र असफलतासँग जोडिएको राजनीतिज्ञ, बुद्धिजीवी, नागरिक समाजलगायतका सरोकारवालाले विश्लेषण गरिरहेको अवस्थामा विभिन्न समस्या ,असहयोग र अभावका बाबजुद अहोरात्र खटेर सङ्घीयतालाई बचाउन सफल भएको प्रसङ्ग उल्लेख गरे ।

प्रदेश प्रहरी ऐन, लोकसेवा आयोग गठनलगायत २३ वटा कानून प्रदेशसभाबाट स्वीकृत, ८० वटा कानून तयारी अवस्थामा र २२ वटा कानून विधायन समितिमा विचाराधीन रहेको उनको भनाइ छ । यस्तै संरचनाको निर्माण, उपलब्ध भएका संरचनाको मर्मतसम्भार लगायतका कार्यलाई प्राथमिकता दिइ तीव्र गतिमा काम भएको मुख्यमन्त्री राउतले जानकारी दिए ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १४ हजार छात्रालाई साइकल वितरण गर्नुका साथै करिब १५ हजार छात्रालाई साइकल वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

मुख्यमन्त्री राउतले समाजमा छोरी जन्मनुलाई ‘सराप होइन वरदानका रूपमा लिनुपर्छ’ भन्ने जनभावना वृद्धि गरी छोरीको जीवन सुरक्षित गर्ने उद्देश्यले बीमा रकमलाई वृद्धि गरी रु तीन लाख पु¥याइएको पत्रकार सम्मेलनमा बताए ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले प्रदेशको नाम मधेश प्रदेश नै राख्नेबारे गहन छलफल भइरहेको र सरकारको दुई वर्षको कार्यकाल पूर्णरूपले सफल रहेको बताए ।

समिति तथा निकायबाट सम्पन्न भएका कामको चाँडो भुक्तानी दिनका लागि सरकार प्रयास गरिरहेको भन्दै काम गर्नेको भुक्तानी विधि प्रक्रियाअनुरूप अवश्य हुने बताए ।