Rumpum Advertisement

प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी तीव्र

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनको तयारी तीव्र

जनकपुर धाम, ७ माघ । प्रदेश २ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचनमा खटिने कर्मचारीको तालीम सम्पन्न भइसकेको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत राजु खतिवडाले बताए ।

निर्वाचनका लागि जनकपुरस्थित महेन्द्र नारायणनिधि संस्कृति केन्द्रमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए ।

राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि २५ कर्मचारी परिचालन हुने भएको छ ।

बिहान १० बजे मतदान सुरु भई अपराह्न ४ बजेसम्मका लागि समय निर्धारण गरिएको निर्वाचन अधिकृत खतिवडाले बताए ।

निर्वाचन सकिएलगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने उनको भनाइ छ ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि हुन गइरहेको निर्वाचनमा आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा प्रदेश २ को प्रदेशसभा सदस्यका साथै स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन् ।

प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २७२ जना गरी कूल ३ सय ७९ जना मतदाता छन् ।

निर्वाचनमा महिला समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

दलित समूहअन्तर्गत एक पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामप्रित पासवान छन् ।

सोही अनुरुप, अल्पसङ्ख्यक समूहअन्तर्गत एक पदको निर्वाचनमा नेपाली कांग्रेसका भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह उम्मेदवार छन् ।

अन्य समूहमा एक पदका लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबीच प्रतिस्पर्धा हुने छ ।