Rumpum Advertisement

टिपरले किचेर हत्या गरेको आशंकामा चार जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
टिपरले किचेर हत्या गरेको आशंकामा चार जना पक्राउ

जनकपुरधाम । नदी उत्खननको विरोध गर्दा टिपरले किचेर दिलीप महतोको हत्या गरिएको भन्ने आशंकामा प्रहरीले क्रसर उद्योगका सञ्चालक विपिन महतोसहित चार जनालाई पक्राउ गरेको छ ।

मिथिला नगरपालिका ५ श्रीनगरका दिलीप महतोको परिवारले पक्राउ परेकाहरुको नाममा किटानी जाहेरी दिएका छन् ।

दिलीपको परिवारले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिए । इलाका प्रहरी कार्यालय ढल्केबरको क्षेत्र भएपनि यो मुद्दा जिल्लाले हेरेको छ ।

दुई जनालाई शुक्रबार नै नियन्त्रणमा लिएको धनुषा प्रहरीले शनिबार थप दुई जनालाई नियन्त्रणमा लिएको हो ।

घटनापछि फरार भएका चुरियामाई बालुवा उद्योगका सञ्चालक विपिनलाई जनकपुर १ मिल्स एरियास्थित ससुराली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले लोडर चालक महोत्तरीको बर्दिवास नगरपालिकाका २२ वर्षीय जितेन्द्र कुमार महतो, ना ७ख ६४१३ नम्बरका टिपरका चालक महोत्तरी बर्दिवासकै मुनिन्द्र महतो र दिलीपलाई बोलाएर खोलातिर लगिएको भनिएका रोशन यादवलाई पक्राउ गरेको छ ।

यसैबीच मृतक दिलीपको शनिबार पोष्टमार्टम गरिएको छ । हत्या भएको झण्डै ३८ घण्टापछि शनिबार साँझ दिलिपको पोष्टमार्टम गरिएको हो । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गरिएको धनुषा प्रहरीले जनाएको छ ।

परिवारले घटनाको छानविनमा आशंका व्यक्त गर्दै घटनाको मुचुल्का गर्न मानेका थिएनन् । तर प्रहरीले छानविन गरि दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवारले पोष्टमार्टमका लागि सहमति दिएको थियो । शनिबार साँझ पोष्टमार्टम गरी दिलीपको शव परिवारजनलाई बुझाइएको छ ।