Rumpum Advertisement

मूर्ति सेलाउन गएका युवाको शव चार दिनपछि भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
मूर्ति सेलाउन गएका युवाको शव चार दिनपछि भेटियो

सप्तरी ६ असोज । सप्तरीमा विश्वकर्मा भगवानको मूर्ति सेलाउने क्रममा डुबेर बेपत्ता भएका एक मुस्लिम युवाको शव फेला परेको छ ।

मूर्ति सेलाउन सप्तकोशी नदी गएका सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियाका २० वर्षीय अमिर खाँको शव चार दिनपछि सोमबार फेला परेको हो । इलाका प्रहरी कार्यालय भारदहले हनुमाननगर कङ्कालिनी नगरपालिकाको जोगिनियास्थित कोशी नदीमा मृत अवस्थामा शव फेला परेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक सागिर राइनले कञ्चनरुप नगरपालिका बेरियरस्थित विनोद साहको मारुती ग्यारेजमा मजदुरी गर्ने अमिरको मृत्यु भएको बताए । ग्यारेजमा गरिएको विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न अन्य मजदुरहरु साथीहरुसहित अमिर बिहीबार कोशी नदी गएका थिए ।

यसअघि शुक्रबार सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित सप्तकोशी नदीको पश्चिमी नहरमा मूर्ति सेलाउन गएका राजविराज नगरपालिका–६ स्थित छिन्नमस्ता डेरी उद्योगमा कार्यरत २२ वर्षीय मनिषकुमार यादवको शव फेला परेको थियो । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–२ निवासी यादव डेरीमा बनाइएको मूर्ति पूजाआजापश्चात सेलाउने क्रममा बिहीबार साँझ बेपत्ता भएकोमा शुक्रबार शव फेला परेको थियो ।