Rumpum Advertisement

अपराधिक मानसिकता भएकासँग मिल्ने प्रहरीले जागिर छोड्नुपर्छ: डिआइजी कार्की

Neuro Revised Adv
Koshi Dashain ad
अपराधिक मानसिकता भएकासँग मिल्ने प्रहरीले जागिर छोड्नुपर्छ: डिआइजी कार्की

काठमाडौं, १० भदौ । अपराधी र तस्करसँग मिल्ने प्रहरीले जागिर छोड्न तयार हुनुपर्ने प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले चेतावनी दिएका छन्। आफ्नो कार्यकालको एक महिनाको प्रगति सार्वजनिक गर्दै प्रहरी उनले यस्तो बताएका हुन ।

‘पुलिसले कुनै अपराधी र तस्करसँग साँठगाँठ गरेको सहँदिनँ, प्रहरी आफैं ठिक हुनुपर्छ,’ कार्कीले मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै भने, ‘अपराधी र तस्करसँग मिल्ने प्रहरी जागिर छोड्न तयार भए हुन्छ।’

तस्करी नियन्त्रणमा कसैसँग कुनै पनि किसिमको कुरा पनि गर्न नसक्ने बताउँदै उनले प्रहरी तस्करसँग मिल्यो भने जागिरमा बसिरहन नदिने बताए ।

पत्रकार सम्मेलनमा कार्कीले आर्थिक वर्ष २०७६ र ०७७ को साउन महिनाको प्रगति विवरण सार्वजनिक गरे। साउन महिनामा मात्र २७ प्रहरीलाई कारबाही गरिएको उनले बताए। राम्रो काम गर्ने ३९ जनालाई पुरस्कृत गरिएको जानकारी पनि उनले दिएका छन्।

कारबाहीमा पर्नेमा प्रहरी जवानदेखि प्रहरी नायब उपरिक्षकसम्म रहेको कार्कीले बताए। एक महिनामा ६६ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको उनले जनाए।

भन्सार छली निकासीरपैठारीमा करिब २ करोड २२ लाख मूल्य बराबरको सामग्री जफत गरी २३ जनालाई पक्राउ गरिएको उनले बताए। साउन महिनामा मात्र प्रदेशका आठ जिल्लामा २७८।७२१ किलो गाँजा, २ सय ५० ग्राम अफिम र अन्य लागुऔषध २ हजार ६५९ एम्पुल बरामद भएको उनले बताए।

लागुऔषधका मुद्दामा एक सय चार जनालाई पक्राउ गरी ६० वटा मुद्दा दर्ता गरेको कार्कीले बताए। अवैध मदिरा बनाउने ४ जनालाई पक्राउ गरी २३ वटा भट्टी, ७ हजार १५९ लिटर कच्चा पदार्थ र ३३ हजार ७ सय ८५ लिटर मदिरा नष्ट गरिएको उनले जानकारी दिए। प्रदेश २ मा साउन महिनामा ट्राफिक कारबाहीबाट ६९ लाख ५८ हजार ५ सय रुपैँया संकलन भएको उनले बताए ।