Rumpum Advertisement

डीएसपीलाई घुस दिन खोज्ने पक्राउ

Neuro Ad
डीएसपीलाई घुस दिन खोज्ने पक्राउ

लहान । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका  १० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु,तपाईलाई पनि मिलाउँछु भन्दै आर्थिकरूपमा अनुचित प्रभावमा पार्न खोजेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अवैध समानसहित तीन पक्राउ

प्रहरीले सिरहाको विभिन्न स्थानबाट करिब  तीन लाख मूल्य बराबरको अवैध समानसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको औरही–४ बाट करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडासहित सिरहाको अर्नामा गाउँपालिका–३ निवासी बिन्देश्वर महतो र औरही गाउँपालिका–४ निवासी बिजुली यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शङ्का लागेर स ४ प १११५ र स ८ प ११६  नम्बरकाे मोटरसाइकल जाँच गर्ने क्रममा अवैधरूपमा ल्याउँदै गरेको कपडा अन्य सामानसहित दुवैलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको सुखीपुर नगरपालिका–५ स्थित बाटोमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर नेपालतर्फ स ५ प ३१२१ नंको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करीब ५० हजार मूल्य बराबरको सामानसहित सिरहा नगरपालिका–२२ हकपारा निवासी २४ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस