Rumpum Advertisement

फोहोर नउठाउदाँ लहान बजार दुर्गन्धित

Neuro Revised Adv
Koshi Dashain ad
फोहोर नउठाउदाँ लहान बजार दुर्गन्धित

सिरहा ।

सिरहाको लहान बजारमा नगरपालिकाका सरसफाई कर्मचारीले डेढ हप्तादेखि फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ । बजारैभरि ठाउँठाउँमा फोहोरका डंगुर थुप्रिएका छन्।

फोहोरको दुर्गन्धले सर्वसाधारणलाई आवतजावत गर्न समेत कठिनाई भएको छ । झण्डै १० दिन देखि दिनदिनै फोहोर थुप्रिँदै गएपनि नगरपालिकाले समस्या समाधानका लागि चासो देखाएको स्थानीयको आरोप छ ।

वडा नम्बर ४ र नगरपालिकाबीच फोहोर व्यवस्थापनको विषयमा भएको विवादका कारण सरसफाई कर्मचारीले फोहोर नउठाएका हुन् ।
गत बैशाख ३१ गते फोहोर लिएर गएका सरसफाई कर्मचारीलाई ट्राक्टरबाट फोहोर झार्न रोकेपछि कर्मचारी र स्थानीयबीच घम्साघम्सी परेको थियो। डम्पिङ साइटको फोहोरले समस्या भएको वडा नम्बर ४ का स्थानीयको भनाई छ ।

त्यसपछि कर्मचारीहरुले बजारमा झाडु लगाउने तर फोहोर नउठाउने निर्णय गरेका थिए। बुधवारदेखि उनीहरूले झाडुपनि लगाउन छाडेका छन्।

चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका छन्। त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर एकदेखि १० सम्मका वडाध्यक्षहरूको एउटा समिति गठन गरिएको थियो।

समितिको प्रतिवेदन नगरप्रमुख मुनि साहलाई बुझाएको उनले सुनाए। त्यसपछि नगरप्रमुख साहले कुनै चासो नदेखाएको उनले गुनासो गरे।
फोहोरको दुर्गन्धले विरामी पर्न थालेको स्थानीयको गुनासो आएको वडाध्यक्ष रामनाथ पण्डितले बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनपछि डम्पिङ्ग साइटकै भवनमा वडा कार्यालय राखिएको थियो। दुर्गन्ध सहन नसकेर वडा कार्यालय पनि त्यहाँबाट सारिएको छ।

लहानका उप्रमुख सरियारकुमारी चौधरीले फोहोर व्यवस्थापनका लागि भएका प्रयास असफल भएको बताइन् । स्थानीय सत्रुधन साहले दुर्गन्धको कारण खाना खान पनि नसकिएको बताए ।