Rumpum Advertisement

बेहुला बन्नुभन्दा आठ दिनअघि एक युवकले गरे झुण्डिएर आत्महत्या

Neuro Revised Adv
Koshi Dashain ad
बेहुला बन्नुभन्दा आठ दिनअघि एक युवकले गरे झुण्डिएर आत्महत्या

महोत्तरी,
महोत्तरीमा बेहुला बन्नुभन्दा आठ दिनअघि एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । महोत्तरीको भंगहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मंगलबार दुलाहाले आत्महत्या गरेका हुन् ।

आउँदो जेठ १५ गते विवाह हुन लागेको भंगहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनको शव घरभन्दा ५०० मिटर परको जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो ।

यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ । रासस