Rumpum Advertisement

विराटनगर भन्सारभित्र तस्करी गराउने बिचौलियाहरूको बिगबिगी

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगर भन्सारभित्र तस्करी गराउने बिचौलियाहरूको बिगबिगी

विराटनगर
बिगबिगी रहेका बिचौलियाहरु संरक्षित हुँदा बिराटनगर भन्सारभित्रबाट हुने तस्करी नियन्त्रण चुनौती बनिरहेको छ । भन्सारभित्रबाट हुने राजश्व छलीलाई नियन्त्रण गर्न भन्सार प्रशासनले नयाँ–नयाँ उपायहरु कडाइका साथ लागू गरेपनि बिगबिगी रहेका बिचौलियाहरुको संरक्षणले गर्दा तस्करी चुनौती बनिरहेको हो ।

विराटनगर भन्सारमा जम्मा १८ जना अनुमतिप्राप्त भन्सार एजेन्ट र सोही संख्यामा उनीहरुका आधिकारिक प्रतिनिधि छन् । यसबाहेक बाहिरबाट आएका भन्सार एजेन्टका आधा दर्जन प्रतिनिधिहरुसमेत गर्दा करिब ४५ जनाको संख्यामा आधिकारिक व्यक्तिहरु भन्सार जाँचपासका लागि बैधरुपले खटिन पाउँछन् ।

तर, विराटनगर भन्सारमा नेपाल र भारतका एक सय जति व्यक्तिहरु आफूलाई एजेन्टको प्रतिनिधि बताउँदै जाँचपासको काममा सक्रिय रुपले खटिरहेका हुन्छन् । भन्सार प्रज्ञापन पत्र भर्ने, कमप्युटर इन्ट्री गराउनेदेखि हातमा कागजपत्र बोकेर विभिन्न शाखाहरुमा सही गराउने काममा बिचौलियाहरु नै बिगबिगी हुन्छन् ।

यसरी भन्सारभित्र बिगबिगी रहेका बिचौलियाहरुले मिलेमतो गराएर जाँचपास प्रभावित बनाउने मात्र नभै जाँचपास भैसकेपछि मालवस्तु थप गरेर भन्सार राजस्व छली गराउने काम पनि गर्छन् । १५ वैशाख २०७६ मा एजेन्ट हरि ठाकुरले जाँचपास गराएको कपडाको गाडीमा कुन्दन मण्डल नाम गरेका बिचौलियाले आफूलाई प्रतिनिधि बताउँदै लाखौँ मूल्य बराबरको कपडा थप गराएर भन्सारबाट टपाउन लागेका थिए ।

तर, जाँचपास निगरानी गर्ने भन्सारका खुफियाहरुले सिसी टिभीबाट जाँचपास भैसकेको गाडीमा पुनः मालबस्तु थप्दै गरेको देखेपछि भन्सारले उक्त मालवस्तु नियन्त्रणमा लिएर पुर्नजाँच गरेको थियो । पुर्नजाँच गर्दा जाँचपास भएभन्दा लाखौँ मूल्यको बढी कपडा पाइएको थियो ।

भन्सारभित्रैबाट राजश्व छली गरेको फेला परेपछि एजेन्ट हरि ठाकुरले बिचौलिया कुन्दन मण्डलसँग आफ्नो कुनै साइनो नभएको र घटनाको जिम्मेवार पनि मण्डल नै हुनुपर्ने बताएका छन् । तर, भन्सार जाँचपासका लागि प्रज्ञापन पत्रमा एजेन्टले नै सही गर्नुपर्ने र उनीहरुले सही गरेको प्रज्ञापनमा उल्लेखभन्दा बढी मालबस्तु फेला परेमा एजेन्ट आफैँ जिम्मेवार हुनुपर्ने भन्सार ऐनमा व्यवस्था छ ।

यसैले घटना अनुसन्धानका लागि समिति गठन गराएको र प्रतिवेदनको प्रतीक्षा भैरहेको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले बताए ।

संरक्षित बिचौलिया नियन्त्रणमा भन्सार र एजेन्टको आरोप प्रत्यारोप

बिगबिगी रहेका बिचौलियाहरुले गर्दा भन्सारभित्रैबाट तस्करी भएका घटना पटक–पटक सार्वजनिक हँुदा कर्मचारी र एजेन्टहरु बदनाम हुने गरेको विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले बताए । उनका अनुसार भन्सार कर्मचारीहरुले संरक्षण दिँदा बिचौलियाहरु नियन्त्रण नभएका हुन् । उपाध्यायले भने, ‘चाहनु हो भने बिचौलिया नियन्त्रण गर्न सकिन्छ तर भन्सार नै चाहँदैन कि बिचौलिया नियन्त्रण होस् किनभने यसमा फाइदा हुन्छ ।’

विराटनर भन्सार कर्मचारीहरु भने एजेन्टहरुले गर्दा नै बिचौलियाहरु संरक्षित भैरहेको आरोप लगाउँछन् । किनभने नियमअनुसार एक जना एजेन्टले एक जना मात्र प्रतिनिधि राख्न पाउँछन् । तर, धेरै कमाउनका लागि एजेन्टहरुले नयाँ–नयाँ मान्छेहरुलाई प्रज्ञापन पत्र भराउने मात्र नभै अनलाइनको पासवार्ड समेत दिएर कामकाजमा प्रयोग गर्ने गर्दछन् ।

जसले गर्दा अनाधिकृत रुपमा प्रयोग गरिएका व्यक्तिहरुले भन्सार जाँचपासका क्रममा मौका पाउनासाथ तस्करी गर्ने गराउने गर्दछन् । विराटनगर भन्सारभित्र प्रायः गाडी बदली गरेर, मूल्यांक कम गराएर, वस्तुको ब्राण्ड र परिमाण हेरफेर गरेर त कहिले, मालवस्तु थप गरेर त कहिले गाडीमा मालवस्तु लुकाउन लगाएर तस्करी हुँदै आएको छ ।

यस्तो कार्यमा प्रायः एजेन्ट र प्रतिनिधिको मिलेमतो हुन्छ । तर, पक्राउ परेपछि चाँही एजेन्ट र प्रतिनिधिहरु पानी माथिको ओभानो बनेर उल्टो आरोप लगाउँदै पन्छिने गर्दछन् । आजकल भन्सारमा मिलेमतो गर्न त्यत्ति सहज छैन । मालवस्तु जाँचपास गर्दा एजेन्ट स्वयं उपस्थित हुनुपर्ने नियम छ ।

तरपनि भन्सारभित्रबाट हुने तस्करी बिचौलियाहरुकै कारण नियन्त्रण गर्न चुनौती बनिरहेको छ । विराटनगर भन्सार प्रवक्ता मणिराम पौडेल भन्छन्, ‘एजेन्टहरुले संरक्षण नगर्ने हो भने बिचौलियाहरु आफैँ नियन्त्रण हुन्छन् तर एजेन्टहरु नै यो चाहँदैनन ।’