Rumpum Advertisement

सीमावर्ती क्षेत्रमा लागू औषध विरुद्धको अभियान

Neuro Revised Adv
Koshi Dashain ad
सीमावर्ती क्षेत्रमा लागू औषध विरुद्धको अभियान

विराटनगर,

मोरङ प्रहरीले भारतसँग सीमा जोडिएको विराटनगर– १६ मा लागूऔषधविरुद्धको अभियान (क्यान) सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा क्यान सेन्टर स्थापना गरी दोस्रो चरणको ‘लागूऔषधविरुद्धको अभियान’ सुरु गरेको हो ।

लागूऔषध दुर्व्यवसनीमा फसेकाहरूलाई समाजमा पुनः स्थापना गर्दै ओसारपसार र खरिद बिक्र्रीलाई निरुत्साहित गर्न मोरङ प्रहरीले दोस्रो चरणको अभियान सुरु गरेको हो । सीमावर्ती क्षेत्रमा स्थापना गरिएको सेन्टरमा लागूऔषध प्रयोगकर्तालाई काउन्सिलिङ गरिने छ ।

विराटनगरसँग जोडिएको सीमावर्ती जोगवनी बजार लागूऔषधको अखडाको रुपमा परिचित छ । विराटनगर, इटहरी र धरानलगायत आसपासका युवाहरू लागूऔषध प्रयोगका लागि जोगवनीसम्म पुग्ने गर्छन् ।

पूर्व क्षेत्रका धेरै लागूऔषध भित्रने नाका पनि जोगवनी हो । जोगवनी पुग्ने लागूऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्दै लागूऔषधमुक्त समाज निर्माणका लागि अभियान सञ्चालन गरिएको मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

नवनिर्मत क्यान सेन्टरको भवनमा बिहीबार दोस्रो चरणको लागूऔषधविरुद्धको अभियान सुरु भएको हो । प्रहरीले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर शाखा, पुनरस्थापना केन्द्र तथा उपचार केन्द्रसँगको सहकार्यमा अभियान सुरु गरेको केसीले बताए ।

ंलागूऔषध दुर्व्यवसनीलाई पक्राउ गरेर मात्र उनीहरूमा सुधार नआएकोले काउन्सिलिङ्ग गरेर समाजमा पुनरस्थापन गर्ने अभियानको थलानी गरेको उनको भनाइ छ । ‘पहिलो चरणमा गरेको लागूऔषध अपराधविरुद्धको अभियान प्रभावकारी भएपछि निरन्तरता दिएको हो,’ उनले भने ।

पहिलो तहमा दुर्व्यसनीलाई काउन्सिलिङ्ग दिने, दोस्रो मध्यम तहका लागि पुनरस्थापना गर्ने र गम्भीर प्रकृतिका लागूऔषध प्रयोगकर्तालाई कोशी अञ्चल अस्पतालमा मेथाडोन उपचार पद्धति सुरु गरिने बताए ।

तीन महिनामा १६ सयलाई लागूऔषध प्रयोगकर्तालाई परामर्श

मोरङ प्रहरीले गत भदौ २५ देखि पुस २ गतेसम्म ९० दिन चलाएको अभियान सञ्चालन गरेको थियो । सो क्रममा १ हजार ६ सय ७८ जना लागूऔषध प्रयोगकर्ताहरूलाई काउन्सिलिङ्ग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर काउन्सिलिङ गरिएकाहरूमध्ये अधिकाशंले औषधजन्य लागूऔषध सेवन गर्नेहरू थिए । सोधपुछ गर्दा औषधिजन्य ड्रक्स कोरेक्स, फेन्सिडिल नाइट्रोसनलगायत सेवन गर्ने गरेको भेटिएको हो । ८७ प्रतिशतले औषधिजन्य पदार्थ सेवन गर्ने भेटिएको थियो भने ४ प्रतिशत गाँजा, चरेस प्रयोग गर्ने भेटिएका थिए । ६ प्रतिशतले अन्य प्रयोग गर्ने बताएका थिए ।

औषधिजन्य लागूऔषध सेवन गर्नेहरूमध्ये थोरै मात्र इन्जेक्सनको प्रयोग गर्ने भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । मोरङ प्रहरीले सुरु गरेको अभियान भरि जिल्लामा लागू औषध ओसार–पसारको घटनामा पनि कमी आएको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आर्थिक वर्ष २०७४–०७५ मा ९३ वटा लागूऔषधसम्बन्धि मुद्दा दर्ता भएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्म ७८ वटा मुद्दा दर्ता भएको छ । तीन महिना लागूऔषधसम्बन्धि अभियान संचालन गरेपछि कमी आएको प्रहरीको दाबी छ ।