Rumpum Advertisement

स्थायी राजधानी घोषणापछि धनकुटा असन्तुष्ट, इटहरी खुशी

Neuro Revised Adv
Koshi Dashain ad
स्थायी राजधानी घोषणापछि धनकुटा असन्तुष्ट, इटहरी खुशी

विराटनगर,
प्रदेश १ का मुख्य सहर विराटनगर, इटहरी, धरान, सुन्दरहरैँचा र धनकुटाले स्थायी राजधानी आफ्नो क्षेत्रलाई तोकिनुपर्ने भन्दै आवाज उठाए । पाँच सहरले राजधानी माग गरिरहेको अवस्थामा प्रदेशसभाको दुई तिहाई बहुमतले सोमबार विराटनगरलाई स्थायी राजधानी घोषणा गर्याे ।

राजधानी विराटनगरलाई घोषणा गरिएपनि प्रदेशसभाबाट पारित प्रस्तावमा वृहत विराट क्षेत्रभित्र पर्ने विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपास व्यवस्थापिका कार्यपालिका र अन्य संरचना निर्माण गर्ने उल्लेख छ ।

प्रदेशसभाबाट पारित भएको प्रस्तावलाई विराटनगर महानगरपालिकाले दीपावली गरी स्वागत गरेको छ । सोमबार दिनभरि आमहड्ताल गरेको महानगरले मुख्यमन्त्री शेरधन राईस“गको छलफलपछि आन्दोलन फिर्ता लिएर साँझ दिपावली गरेको हो ।

स्थायी राजधानी घोषणालाई इटहरी उपमहानगरपालिकाले पनि स्वागत योग्य निर्णय भएको बताएको छ । तर, संघिय संरचनाअघि पूर्व क्षेत्रको सदरमुकाम रहेको धनकुटाले भने स्थायी राजधानी घोषणाप्रति असन्तुष्टी जनाएको छ । धनकुटालाई अन्याय भएको भन्दै सडकमा निस्किएका धनकुटाबासीले मंगलबार र बुधबार कोशी राजमार्ग केही समय अवरुद्ध गरे ।

राजधानी कै माग गरिरहेको विराटनगरको छिमेकी सहर इटहरीले राजधानीको घोषणापछि इटहरीबासी खुशी भएको बताएको छ । दीपावली गरी राजधानी घोषणालाई स्वागत गर्न नसकेको इटहरीले प्रदेश सभाबाट पारित भएको प्रस्ताव स्वागतयोग्य भएको बताएको छ ।

वृहत विराट क्षेत्रलाई राजधानी घोषणा गरेकाले इटहरीका जनता खुशी भएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बताए । ‘वृहत विराट क्षेत्रलाई राजधानी तोकेको हो । जसको केन्द्र भागमा इटहरी छ,’ मेयर चौधरी भन्छन् ‘स्थायी राजधानी घोषणा स्वागत योग्य छ ।’

प्रदेश सरकारले राजधानीको प्रस्तावअघि मोरङ र सुनसरीका १८ वटा स्थानीय तहलाई समेटेर वृहत विराट विकास क्षेत्र समिति गठन गरेको थियो । राजधानी घोषणाका विषयमा इटहरीका जनता असन्तुष्ट नभएको उनको भनाई छ । प्रदेश राजधानीको केन्द्र भाग इटहरी भएका कारण जनता असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

धनकुटालाई मन्त्रालय चाहियो !

संघीयता कार्यान्वयनअघि पूर्वाञ्चल क्षेत्रको सदरमुकाम रहेको धनकुटा विराटनगरलाई अस्थायी राजधानी घोषणा गरेदेखि आन्दोलित बनेको थियो । प्रदेश राजधानी घोषणा गर्नुअघि प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानीको रुपमा विकास गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको थियो । तर, धनकुटाबासीले सम्पर्क राजधानीले नपुग्ने बताएका छन् ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ प्रदेश सरकारले कुनै एउटा मन्त्रालय राखिदिए जनतालाई चित्त बुझाउने आधार हुने बताउँछन् । धनकुटाको विकासमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘राजधानी सरेपछि धनकुटाको अवस्था बिग्रिएको छ,’ उनी भन्छन्, ‘बजारमा चहलपहल खच्किएको छ, व्यापारीहरु अन्यन्त्र पलायन हुने अवस्थामा छन् ।’