Rumpum Advertisement

राजधानी घोषणापछि सामाजिक सञ्जालमा प्रतिक्रिया : मेयर भीम पराजुलीको दोहोरो रुप

Neuro Revised Adv
Koshi Dashain ad
राजधानी घोषणापछि सामाजिक सञ्जालमा प्रतिक्रिया : मेयर भीम पराजुलीको दोहोरो रुप

विराटनगर,
प्रदेश नम्बर एकको स्थायी राजधानी विराटनगरलाई घोषणा गरिरहँदा चर्चा र आलोचनाको केन्द्रमा रहे विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली ।

आइतबार प्रदेशसभा सचिवालयमा सरकारको नेतृत्व गरिरहेको नेकपाले विराटनगरलाई केन्द्र बनाएर बृहत विराट क्षेत्रभित्र पर्ने विराटनगर, सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचा आसपास कार्यपालिका र व्यवस्थापिकाकासहित अन्य संरचना निर्माण गर्ने प्रस्ताव पेश गरेको थियो ।

आइतबार राति राजधानी सार्ने षडयन्त्र भएको बताउ“दै मेयर भीम पराजुलीको अगुवाईमा विराटनगरमा अनिश्चितकालीन आमहड्ताल घोषणा भयो । तर, आन्दोलनकर्ताको फ्रन्टमा देखिए प्राडा भेषप्रसाद धमला । धमलाको नेतृत्वमा गठन भएको विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दबाब समितिको नाममा बन्द आह्वान गरियो ।

बन्दका कारण सोमबार बिहानदेखि विराटनगरमा सवारी साधन चलेनन् । बजार खुलेनन् । बन्दकर्ताले बिरामी बोकेर आएका सिटी सफारी र मोटरसाइकललाई सहज रुपमा राजमार्गमा गुड्न दिएनन् । दिउँसो मुख्यमन्त्री शेरधन राईसहित नेकपाका नेताहरुसँगको छलफलपछि बन्द फिर्ता भयो र मेयर भीम पराजुलीले राजधानी घोषणा भएको खुसियालीमा दीपावली मनाउन आग्रह गरे ।

आइतबार नेकपाले प्रदेशसभामा दर्ता गराएको प्रस्ताव र सोमबार पारित भएको प्रस्तावमा एउटा अक्षर पनि दायाँ बायाँ छैन् । प्रस्ताव जस्ताको तस्तै पारित भयो । तर, प्रस्ताव दर्ता हुँदा बन्द आह्वान गर्न सहयोग गरेका मेयर पराजुली प्रस्ताव पारित भएपछि दीप प्रज्वलन गर्न निस्किएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ ।

दिउ“सो टायर बाल्ने र साँझ दीप प्रज्वलन गर्ने भन्दै सामाजिक सञ्जालमा आलोचनाको पात्र बने पराजुली । तर, मेयर भीम पराजुली भने मुख्यमन्त्रीसहितका नेताहरूले राजधानीका संरचना विराटनगरमा नै निर्माण गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता लिएर दीपावली गरेको बताउँछन् ।

प्रस्तावको कैफियतमा इटहरी सुन्दरहरैँचाको नाम उल्लेख भएपनि महानगरमा नै संरचना बनाउने सहमतिपछि आन्दोलनलाई खुसियालीमा रुपान्तरण गरेको उनी बताउँछन् ।

सामाजिक सञ्जाल फेसबुकमा पत्रकार अर्जुन आचार्य लेख्छन्, ‘बिहान टायर बालियो बेलुका दीपावली र हिजोको प्रस्ताव र आज पारित भएको प्रस्तावतमा कुनै परिवर्तन छैन् । यस्तो नौटंकी दुनियाँमा मैले देखेको थिइँन् । महानगर प्रमुखज्यू कम्तीमा अरुले उचालेको भरमा नउचालिन आग्रह गर्दछु, ध्यान योग, ज्योतिस विद्या सब फेल होला होस् गर्नुहोला । तपाइकै शुभेच्छुक हुँ ।

आचार्यको स्टाटासमा विद्यार्थी नेता ओसिम आलम लेख्छन् ‘गर्नेलाई भन्दा हेर्नेलाई आज भनेको यही रहेछ ।’ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रब सुवेदीको  प्रतिक्रिया पनि उस्तै छ । उनी लेख्छन् ‘लाज पचेपछि यस्तै हो । मुख्यमन्त्री कार्यालयको गाडी र बाइक जलाउन बन्दको नौटंकी गरेको होला । निजी विचार’

सामाजिक सञ्जाल फेसबुकमा विराटनगर महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत गोपाल रेग्मीको प्रतिक्रिया पनि उस्तै छ । उनी लेख्छन् ‘हिजो राजधानीको सन्दर्भमा, प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्तावको विरोधमा आज(सोमबार) दिनभरी विराटनगरलाई बन्धक बनाउन आह्वान गर्नैले आज त्यही प्रस्ताव हुबहु पारित हुँदा साँझ दीपावली गरेछन् । सक्षम र योग्य प्रतिनिधि छनौट गरेकोमा विराटनगरका मतदातालाई बधाई छ ।’

विद्यार्थी नेता दिपेन्द्र मेहता लेख्छन् ‘आइतबार नेकपाले विराटनगरलाई राजधानी बनाउन गरेको प्रस्ताव र हिजो पारित भएकोमा केही फरक छैन् । हिजो भएको आन्दोलनबाट हिजो फोडेको गाडीहरु, पसलहरुको क्षतिपूर्ती कसले दिने ?’

सामाजिक सञ्जालमा रोकन कडेँल लेख्छन्, ‘आन्दोलनका मुख्य योजना महानगर मेयर साब बाटनै भएको हो भनेर जुन किसिमले हावादारी गफ फैलाउँदै छन् केही व्यक्तिहरु, वहाँहरुलाई म ध्यान आकर्षण गराउन चाहान्छु । यो निर्णयबारे र कारवाही नै गर्ने हो भने सबैले आफ्नो पार्टीको अग्रज नेता बाटसुरु गरे हुन्छ ! धन्यवाद जय नेपाल, जय तरुण !

नेपाल विद्यार्थी संघका नेता कृष्ण कार्की लेख्छन्, ‘नेपालकै औद्योगिक र राजनीतिक महत्त्व बोकेको विराटनगर लाई प्रदेश न १ को स्थायी राजधानी हिजो सर्वसम्मत रुपमा प्रदेशसभा बैठकले घोषणा गरेको छ । विराटनगरलाई प्रदेश न १ को राजधानी घोषणा गर्नु भएकोमा म प्रदेश न १ का मुख्यमन्त्री तथा मन्त्रीज्यूहरु, प्रदेश सभाका सभामुखज्यू, उपसभामुखज्यू, प्रदेश न १ प्रदेश सभाका माननीय सांसदज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै, प्रदेश न १ को राजधानी विराटनगर भएको उपलक्ष्यमा म सम्पूर्ण विराटनगरवासी र समस्त प्रदेशबासी आमा बुबा, दिदी–बहिनी, दाजु–भाईहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु ।’