Rumpum Advertisement

छुवाछुत बिरोधी अभियन्ताहरुलाई ईटहरी उपमहानगरपालिमा भव्य स्वागत

Neuro Revised Adv
Koshi Dashain ad
छुवाछुत बिरोधी अभियन्ताहरुलाई ईटहरी उपमहानगरपालिमा भव्य स्वागत

सुनसरी, बैशाख २१ ।

जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन पदयात्राको टोली इटहरी आइपुगेको छ । ५० दिनअघि महाकालीको दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई इटहरी उपमहानगरपालिमा भव्य स्वागत भएको छ ।

अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई आइतबार ईटहरी उपमहानगरपालिकाको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा अभियन्ता अशोक दर्नालले आइतबार आफूहरुको अभियान ५० दिन पुगेको बताए । उनले ५० दिनमा इटहरी आइपुग्दा अभियान सफल हुदै गएको अनुभूति सुनाए ।

जातीय छुवाछुत अन्त्य गर्ने जति कानून बनेपनि चाँदनी दोधाराबाट इटहरीमा आइपुग्दा दलित समुदायमाथिको उत्पीडन जारी रहेको बताए ।

उनले भने–‘बनेका कानून कार्यान्वयन नहुँदा उत्पीडनले फरक रुप लिएको छ ।’ अभियन्ता दर्नालले बताए अनुसार उनीहरुलाई हालसम्म ८५ स्थानीय तहले सहयोग गरेका छन् ।

टोलीले ६८ हजार नागरिकहरुसँग दलित समुदायमाथिको विभेद, उत्पीडन गर्ने विषयमा संवाद गरेका छन् । दर्नालले इटहरीमा आइपुग्दा ८६ दलित घरधुरीमा पुगेर भेटघाट गरी उत्पीडनका पीडा सुनेको बताए ।

अर्की अभियन्ता रिता परियारले दलितहरुसँग नागरिकता नै नभएको बताइन् । उनले भनिन्–दलित समुदायसँग नागरिकता नै छैन अनि कसरी अन्य सेवा सुविधा लिने ? उनले थपिन्–अभियानका क्रममा भेटिएका दलित समुदायहरुमा गास, बास र कपासको अभाव भएको पाइयो । गोरखा जिल्लाकी उनले आफू सानो हुँदा धारामा पानी भर्न नपाएको र मन्दिर प्रवेश गर्न नपाएको कुरा स्मरण गरिन् ।

गैर दलित समुदाय (ब्राम्हण समुदाय)बाट दलित मुक्तिका लागि पैदल यात्रामा निस्कीएका होमराज आचार्यले भने–‘छुवाछुतको सवाल केवल दलितहरुको मात्रै हैन, क्षेत्री, बाहुनहरुको पनि हो ।’

२१ औं शताब्दीमा आएर पनि दलितहरुमाथि भेदभाव हुनु अर्धम र पाप हो अभियन्ता आचार्यले भने । उनले राष्ट्र निर्माणमा दलितहरुको रगत पसिना बगेको कुरा स्मरण गरे ।

उनले मन्दिरका मूर्ति र गजुर बनाउने दलितहरु त्यै मन्दिरभित्र पस्न नपाउनु विडम्बना भएको उनको भनाइ थियो । संघर्ष गर्ने बेलामा अग्र भागमा दलित हुने उपलब्धी पाउने बेलामा पछि पारिने गरिएकोले उत्पीडन जारी रहेको उनले बताए ।

स्वागत कार्यक्रममा संविधानसभा सदस्य अनिता परियार, इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, नेपाल कम्युनिष्ट नेकपा प्रदेश १ सदस्य डिबी शाहशंकर, नेपाली कांग्रेस इटहरी उपमहानगर समिति उपसभापति शिवराज दाहाल, अमर बराइलीलगायतले छुवाछुत प्रथा अन्त्य गर्न बनेका कानून कार्यान्वयन गर्न गराउन अग्रसर हुने बताए ।

यो अभियान झापाको काँकडभिट्टा पुगेर समापन हुनेछ । इटहरीबाट शान्ति गजमेर र सहयोग विश्वकर्मा पनि अभियान टोलीसँग पैदल यात्रामा निस्कीएका छन् ।