Rumpum Advertisement

प्रदेश राजधानी बहसः विकेन्द्रीकरण नगर्न सुझाव

Neuro Ad
प्रदेश राजधानी बहसः विकेन्द्रीकरण नगर्न सुझाव

विराटनगर । एक नम्बर प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी तोक्ने गृहकार्य गरीरहेको अवस्थामा सरोकारवालाहरुले राजधानी घोषणा गर्दा संरचनाहरु विकेन्द्रीकरण गर्न नहुने बताएका छन् ।

प्रदेश संरचना विकेन्द्रीकृत हुँदा सेवा लिन आउने जनताले दुःख पाउने बताउँदै सरोकारवालाहरुले एकै स्थानलाई राजधानी घोषणा गर्न सुझाव दिएका छन् ।

राजधानी विकेन्द्रीकरण गर्ने प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले तयारी गरेपछि विराटनगर महानगरपालिकाले शनिबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो । छलफलमा सहभागीले कार्यपालिका एकातिर र व्यवस्थापिका अर्कोतिर सार्दा जनताले दुःख पाउने भएकाले एकै स्थानमा राख्न सुझाव दिएका हुन् ।

अर्थशास्त्री भेषप्रसाद धमलाले राजधानी तोकिएको ठाउँमा प्रदेशको संरचानाहरू एकै ठाउँमा हुनुपर्ने अन्तराष्ट्रीय परम्परा भएकाले एकै स्थानमा राख्नु पर्ने बताए । विराटनगरमा अहिले नै उपलब्ध पूर्वाधारले प्रदेश सरकारको धेरै अवाश्यकता पूरा गरेको बताउँदै उनले अन्यन्त्र लैजाने निर्णय गर्दा राज्यलाई भार पर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रदेशको संरचनाहरू छरपट गरि बनाउँदा सेवाग्राहीले दुःख पाउने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भौतिक पूर्वाधार भएका कारण विराटनगरको बिकल्प खोज्न नहुने बताए । उनले प्रदेशलाई नयाँ संरचना निर्माण गर्न आवश्यक पर्ने जग्गा महानगरपालिकाले उपलब्ध गराउने बताए ।

शनिबार विज्ञाप्ती जारी गर्दै मेयर पराजुलीले प्रदेशको स्थायी राजधानी बनाउन ५० विघा जग्गा सरकारलाई उपलब्ध गराउने बताए । विज्ञप्ति प्रकासित गरी संरचना निर्माणदेखि जग्गा प्राप्तिसम्मका काममा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको पराजुलीले बताए ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विकास अवधारणका लागि ल्याएको भनिएको वृहत विराट क्षेत्रमा राजधानीका संरचना सार्न नमिल्ने बताए । नाममा सहमति जुटाउन नसकेको सरकारले राजधानीका संरचना छर्न खोजेको बताए ।

संघीय समाजवादी फोरमको संसदीय दलका नेता जयराम यादवले विराटनगरको बिकल्प नभएको बताए । सांसद सावित्रा रेग्मीले विराटनगरको बिकल्प नभएको बताइन् ।

सांसद यशोदा अधिकारीले राजधानीकालागि विराटनगरमा पूर्वाधार भएकाले बाहिर लैजान नमिल्ने बताइन् ।

नेकपा केन्द्रीय सदस्य गुरु बराल र महेश रेग्मीले दिर्घकालिन हिसाबले सोचेर राजधानीकालागि निर्णय लिनु पर्ने बताए । उनीहरुले विराटनगरको बिकल्प नभएको बताए ।