Rumpum Advertisement

प्रदेश १ को स्थायी राजधानी र नाममा सहमती जुटाउन नेकपालाई सकस

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ को स्थायी राजधानी र नाममा सहमती जुटाउन नेकपालाई सकस

 

 

विराटनगर, बैशाख १८ ।

प्रदेश–१ को नाम र स्थायी राजधानी तोक्न सत्तारुढ पार्टी नेकपालाई सकस परेको छ । प्रदेश सरकार गठन भएको करिब डेढ वर्षपछि नाम र राजधानीको टुंगो लगाउने तयारीमा जुटेको नेकपाका नेताहरु पहिचान र भूगोललाई समेट्ने विषयमा आ–आफ्नो अडानमा बसेपछि राजधानी र नाममा सहमती जुटाउन सकस परेको हो ।

तत्कालिन एमाले पक्षधर प्रदेशसभा सदस्य भूगोलका आधारमा प्रदेशको नाम राख्नुपर्ने पक्षमा छन् । तत्कालिन माओवादी पक्ष भने पहिचानको विषयलाई पनि जोडनु पर्ने बताउँदै आएका छन् ।

एक नम्बर प्रदेश सभाको सूचना अनुसार बिहिवार प्रदेश राजधानी र नामको प्रस्ताव दर्ता गर्नुपर्ने समयसिमा छ । नाम र राजधानीका विषयमा सहमती जुटाउन बुधवार विहानैदेखि नेपकाको बैठक बसेपनि निर्णयमा पुगेको छैन् ।

बैठकमा नेकपा एक नम्बर प्रदेश कमिटी इञ्चार्ज भीम अचार्य, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई, उपनेता टंक आङ्बो सहित विराटनगरमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी छन् ।

प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री इन्द्र आङवो प्रदेशको नाम ‘कोशी किरात’ र राजधानी विराटनगर हुनुपर्ने पक्षमा छन् । नाममा पहिचान जोड्नु पर्ने बताउ“दै आएका उनी भौतिक पूर्वाधार भएका कारण राजधानीकालागि विराटनगरको बिकल्प खोज्ने पक्षमा छैनन् ।

मुख्यमन्त्री शेरधन राई पनि नामको पछाडी किरात जोड्ने विषयमा सकारात्मक छन् । तर आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्की प्रदेशको नाम सगरमाथा हुनुपर्ने पक्षमा छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे विराटनगरको पक्षमा छन् । पर्यटनमन्त्री जगदिश कुसियत भने खुलेका छैनन् ।

प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगर, धरान, इटहरी र धनकुटाले दाबि गरिरहेका छन् । राजधानीको मागलाई सम्बोधन गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राई विराटनगरमा कार्यपालिका, इटहरीमा व्यवस्थापिका बनाउनुपर्ने पक्षमा रहेको नेकापा नेताहरु बताउछन् । तर पार्टी भित्र सहमती जुट्न सकेको छैन् ।

प्रदेश १ को प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्ख र हेरको रणनीतिमा छ । नाम र राजधानीका विषयमा एकमत हुन मंगलबार आयोजना भएको बैठक विना निष्कर्ष टुंगिएपछि कांग्रेस पर्ख र हेरको रणनितीमा बसेको हो । नाम र राजधानी दुबै विषयमा पार्टी एक ढिक्का भएर उभिने विपक्षी दलका नेता राजीव कोइराला बताउछन् ।