Rumpum Advertisement

क्यानडा मोहले ठगिए युवा, दिल्ली बस्ने दलालको विश्वास गर्दा ऋणको बोझ

Neuro Revised Adv
Koshi Dashain ad
क्यानडा मोहले ठगिए युवा, दिल्ली बस्ने दलालको विश्वास गर्दा ऋणको बोझ

विराटनगर,

घटना १
कटहरी २ आदर्श टोल बस्दै आएका अशोककुमार राजवंशीसहित ६ जना युवाले एक साताअघि क्यानडा जाने नाममा ठगिमा परेको भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिए । क्यानडा जाने आशमा दलाललाई रकम बुझाएका अशोकसहित राजु राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, लक्ष्मण सहनी, दयानन्द सहनी डुबेको पैसा फिर्ता पाइन्छ की भन्ने आशमा छन् ।

घटना २
गत चैत दोस्रो साता सुनसरीको रामधुनी नगरपालिकाकामा बस्ने ६ जना स्थानीय युवाहरुबाट ३७ लाख उठाएर दलाल फरार भएको भन्दै श्रम कार्यालय आइपुगे । फुड प्याकिङमा जाने आशमा धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरीलाई नक्कली भिषा देखाएर सात लाखका दरले रकम उठाएर दलाल फरार भएको उजुरी आएपछि कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले ७ लाख ६७ हजार फिर्ता गराइदिएका छन् ।

घटना ३
गत पुस पहिलो साता मोरङ सुनवर्षी र रंगेली नगरपालिकाका ७ जना युवाले क्यानडा जाने लोभमा ठगिएको भन्दै श्रम कार्यालयमा उजुरी गरे । ५ देखि ७ लाख बुझाएका हंशराज राजवंशी, कशंराज राजवंशी, पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डलले ठगिएको भन्दै गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए । उनीहरूको निवेदन वैदेशिक रोजगार विभागमा पुगेको छ ।

माथिका तीनवटा उजुरी वैदेशिक रोजगारीका लागि क्यनडा जाने लोभमा ठगिएका युवाहरूले गरेका हुन् । तीनवटा घटनामा रकम उठाउन गिरोहको नाइके एउटै छन् । गिरोहसम्म पैसा पुर्याउने काम स्थानीय दलालहरूले गरेका छन् । दलालको विश्वास गरेर २ लाखदेखि ७ लाखसम्म बुझाएका युवाहरू ऋणको बोझ बोक्न बाध्य भएका छन् ।

दलालकै चङगुलमा परेका कटहरी २ आदर्श टोलका अशोकुमार राजवंशी समस्यामा छन् । ग्रिल उद्योगमा काम गरेर गुजारा गर्दै आएका उनलाई क्यानडा गए मासिक २ लाख पारिश्रमिक पाउने लोभ देखाउँदै दलाल पुगे ।

क्यानडामा फुड प्याकिङको काममा जान ४ लाख लाग्ने दलाल राजन राजवंशीले बताए । तर, उनीसँग पैसा थिएन । क्यानडाको लोभले सयकडा ३ का दरले जेठीसासूको ५ कट्ठा जग्गा दृष्टि बन्धकमा राखेर २ लाख ऋण लिए । बाँकी रकम आफैँ जोहो गरेका अशोकले ऋण तिर्नुपर्ने भाका एक वर्षको थियो । तर, जग्गा दृष्टि बन्धकमा राखेर ऋण लिएको ६ महिना पुग्नै लाग्यो । एक पटक दिल्लीसम्म पुगेर आएका उनी क्यानडा त जान पाएनन्, न दलालले लगेको ४ लाख रुपैयाँ नै फिर्ता पाए ।

ऋण काढेर दलाललाई पटक–पटक गरी ४ लाख बुझाएका अशोककुमार राजवंशीसहित ६ जना युवाहरूसँग ४ लाखका दरले रकम उठाएर राजन राजवंशी फरार भएका हुन् । मोरङकै धनपालथान घर भएका दलाल राजवंशी फरार भएपछि डुबेको पैसा फिर्ता गराउन भन्दै उनीहरू श्रम तथा रोजगार कार्यालय विराटनगर आएका छन् ।

सुनवर्षी नगरपालिका–२ का राजु राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, सुनवर्षी–९ का लक्ष्मण सहनी, दयानन्द सहनीले श्रम कार्यालयमा उजुरी गरेका हुन् । विदेश जाने लोभमा निम्न आर्थिक अवस्था भएका उनीहरू सबैले सयकडा ४ रुपैयाँसम्म ब्याज तिरेर ऋण लिएका छन् ।

तर, विदेश नठाई दलाल फरार भएपछि ऋण तिर्न समस्या भएको पुष्पकुमार बताउँछन् । उनले सहरा र फरवर्ड माइक्रो फाइनान्सबाट डेढलाख ऋण लिएका छन् । त्यसबाकेह व्यक्तिबाट पनि ऋण लिएका छन् । दलाल फरार भएपछि ऋण तिर्न समस्या भएको उनले दुखेसो गरे ।

३७ लाख उठाएका दलालले सात लाख फिर्ता गरे

क्यानडा पठाउने भन्दै दलालले सुनसरी रामधुनी नगरपालिकाका ६ जना स्थानीय युवाहरूबाट ३७ लाख उठाए । नक्कली भिसा र प्लेन टिकट पाएपछि धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरीले ३७ लाख बुझाए । गत असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ दिएका थिए ।

क्यानडा जान नपाएपछि उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी गरे । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय दलाललाई उपस्थित गराएर ७ लाख ६७ हजार रुपैयाँ फिर्ता गराए ।

रामधुनीका ६ जना स्थानीयलाई राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले विदेश पठाउने भन्दै पैसा उठाएका हुन् । तिमध्ये राजनका बुबा र विनोद ठाकुरले सात लाख फिर्ता गरे ।

वैदेशिक रोजगारीका क्यानडा जान खोजेका मोरङ सुनवर्षी हंशराज राजवंशी, कशंराज राजवंशी, पंकग राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डलले ठगिएको भन्दै गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए । उनीहरूले उजुरी श्रम कार्यालय हुँदै वैदेशिक रोजगार विभाग पुगेको छ ।

मोरङ सुनसरी र झापामा ठगी गर्ने दलालको गिरोह पनि एउटै रहेको प्रेमप्रसाद सञ्जेल बताउँछन् ।

दिल्लीबाट चल्छ गिरी, पुरी र झाको ठगी धन्दा

मोरङको कटहरी, सनुवर्षी र सुनसरीको रामधुनीका युवालाई ठगी गर्ने गिरोहका मुख्य नाइके निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दिपेन्द्र झालगायत रहेको श्रम तथा रोजगार कार्यालय विराटनगरमा प्रमुख प्रेमप्रसाद सञ्जेल बताउँछन् । तर, मोरङ र सुनसरीमा देखिएका एजेण्ट हुन् राजन राजवंशी । रामधुनीमा भने किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुर, कृष्णदेवी ठाकुर छन् ।

क्यानडाका नाममा ठगी गरिरहेको गिरोहमा नाइके निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दिपेन्द्रकुमार झा दिल्लीमा लुकेर बस्दै आएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल बताउँछन् ।

गिरी र पुरीसहितको समूहले नक्कली भिसा र प्लेन टिकट देखाएर मोरङ रंगेली, सुनवर्षी आसपासका ३० जना युवालाई ठगी गरेका छन् । ४ देखि ७ लाख रुपैयाँका दरले गिरोहलाई रकम बुझाएकाहरूमध्ये मोरङका ६ जनाले श्रम कार्यालय विराटनगरमा लिखित उजरी श्रम कार्यालय हुँदै वैदेशिक रोजगार विभाग पुगेको छ ।

ठगी गर्नेहरूका नाइके भनिएका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । झापाको गौरीगञ्ज गाउँपालिका ४ का गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झा पनि दिल्ली नै बस्दै आएका छन् । मोरङ सुनसरी र झापामा क्यानडा पठाउने नाममा ठगी गर्ने दलालको गिरोह एउटै रहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल बताउँछन् ।

वरिष्ठ श्रम अधिकृत सञ्जेलले ठगी गर्ने गिरी, पुरी, ठाकुर र राजवंशीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय मोरङ, झापा र बाँकेको प्रशासन कार्यालयलाई समेत प्रत्रचार गरेको बताए । दलाललाई पक्राउ गर्न प्रहरीले पनि अहसोग गरेको सञ्जेल गुनासो गर्छन् ।