Rumpum Advertisement

स्थायी राजधानी र नामकरण प्रस्ताव एक नम्बर प्रदेश सभामा बैशाख १९ गते दर्ता हुँदै

Neuro Ad
स्थायी राजधानी र नामकरण प्रस्ताव एक नम्बर प्रदेश सभामा बैशाख १९ गते दर्ता हुँदै


विराटनगर, बैशाख १५ ।

एक नम्बर प्रदेश सभामा स्थायी राजधानी र नामको प्रस्ताव बैशाख १९ गते दर्ता हुने भएको छ ।

प्रदेश सभाको आइतबार बसेको बैठकले स्थायी राजधानी र नामाकरणको प्रस्तावकालागि सूचना प्रकाशन गर्न सचिवालयलाई निर्देशन गरेपछि  बैशाख  १९ गते प्रस्ताव दर्ता हुने भएको हो ।

आइतबारको बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले  बैशाख १९ सम्ममा स्थायी राजधानी र प्रदेशको नामकरणको प्रस्ताव दर्ता गराउने गरि सूचना प्रकाशित गर्न प्रमुख सचिव गोपाल पराजुलीलाई निर्देशन गरेका छन ।

प्रदेश सभाका प्रमुख सचिव पराजुलीले आइतबार नै स्थायी राजधानी र प्रदेशको नामकरणकालागि प्रस्ताव दर्ता गराउनकालागि सूचना प्रकाशित गरिसकेका छन् ।

प्रदेश सभा सञ्चालन नियमावली अनुसार दुई जना सांसदहरुको सर्मथन लिएर प्रस्तावक सांसदले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउन सक्नेछन । दर्ता भएको प्रस्ताव उपर छानबिन गरि सभामुखले संसदको बैठकमा छलफलकालागि प्रवेश गराउन अनुमति दिने छन् ।

संसदबाट प्रस्ताव स्विकृत भैसकेपछि सभामुखले प्रस्ताव उपर छलफल गराउने छन् । छलफलमा सहमती भए सर्बसम्मतले नभएमा दुई तिहाईको हस्ताक्षर सहित प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाबाट टुंगो लाग्नेछ ।

एक नम्बर प्रदेशमा स्थायी राजधानीका लागि विराटनगर महानगरपालिका, सुनसरीको ईटहरी, मोरङको गोठगाउँ र धनकुटा चर्चामा छन ।

प्रदेश एककालागि कोशी, सगरमाथा, विराट प्रदेश, किराँत, कोचिला, लिम्बुवान, किराँत कोशीलगायतका नाम चर्चामा  छन् ।