Rumpum Advertisement

रिना बस्नेत मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टमा देखिएन हत्या, प्रेमी कमलको पोलिग्राफ परिक्षण गर्ने तयारी

Neuro Revised Adv
Koshi Dashain ad
रिना बस्नेत मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टमा देखिएन हत्या, प्रेमी कमलको पोलिग्राफ परिक्षण गर्ने तयारी

विराटनगर
मोरङकाे पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिना बस्नेतको दुर्घटनाका कारण मृत्यु भएको प्रारम्भिक पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले बताएको छ । शनिवार डेराअगाडि नग्न अवस्थामा फेला परेकी रिना बस्नेतको प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

‘प्रारम्भिक पोष्टमार्टम रिपोर्टले टाउको र छातीभित्र चोट लागेर ब्रिडिङ भएको देखिन्छ,’ उनले भने, ‘ प्रारम्भिक रिपोर्टमा हत्या भए जस्ताे देखिँदैन् ।’ प्रारम्भिक रिपोर्टले माथिबाट झरेको आशंकालाई थप बल पुगेको प्रहरीले बताएको छ ।

प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा छातीको भित्री पार्टमा चोट लागेको देखिन्छ । टाउको र छातीभित्र चोट लागेर दुर्घटना भएको देखिएको बताउँदै प्रहरी नायव उपरीक्षक श्रेष्ठले छातीभित्र रगत बगेको देखिएको बताए ।

बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएपनि पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको नदेखिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठले थप विषयको फरेन्सिक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

मध्यरातमा देखिएका ठेलावालासँग सोधपुछ

रिना बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अघिल्लो दिन शुक्रबार पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम हेरेर घर फर्किएकी उनी राति साढे १२ बजेसम्म कोठामै रहेको छोराले बताएका थिए ।

प्रहरीले शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेका बेला पथरी घटनासँग जोडिएर एउटा सिसि टिभी फुटेज सार्वजनिक भयो । जसमा, रातिकाे समयमा शंकास्पद ठेलावाला टस बालेर आएको देखिन्छ । खुट्टाको पेन्ट सुर्किएका ती व्यक्तिले आनुहार छोपे जस्तो पनि  देखिन्छ ठेलाको पछाडि केही छाेपेर  राखे जस्तो बस्तु पनि देखिन्छ ।

 फुटेज सार्वजनिक भएपछि सामाजिक सञ्जालमा रिनाको अन्यत्र हत्या गरी डेरा अगाडी शव फालिएको आशंका गरिएको थियो । तर, प्रहरी अनुसन्धानका क्रममा शंकास्पद भनिएका ठेलावला तरकारी पसलमा काम गर्ने मजदुर रहेको पाइयो ।

ठेला वालालाई बोलाएर सोधपुछ गरेको प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । ‘राति ठेला कुदाउँदै आएका व्यक्ति मजदूर हुन्,’ उनले भने, ‘रिनाको मृत्युसँग तिनको सम्बन्ध देखिएन् ।’ ठेलामा लास लगेर फाले भन्नु असम्वेदनशिलताको हद पार भएको उनले गुनासो गरे ।

प्रहरीका अनुसार राति ठेलामा तरकारी ओसार्ने मजदुर पथरी कै हुन । तर उनकाे परिचय गाेप्य राखिएको छ ।  राति शव देखेका ती व्यक्तिले डरका कारण प्रहरीलाई खबर नगरेको बयान दिएका थिए ।

प्रेमी कमलको पोलिग्राफ टेस्ट गरिने

शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले रिनाका प्रेमी भनिएका कमलप्रसाद नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक बयानका क्रममा कमलले आफ्नो प्रेमिका रहेको स्वीकार गरेका छन् । उनीहरुको सम्बन्ध अन्य साथीहरुलाई पनि जानकारीमा थियो ।

मोरङको सुन्दरहरैचा नगरपालिका– ३ घर भई पथरीमा नै व्यवसायी गर्दै आएका नेपाललाई नियन्त्रणमा लिएको प्रहरीले उनको पोलिग्राफ  टेष्ट गर्ने तयारी गरेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार कमलको पोलिग्राफ टेष्ट गर्ने तयारी गरिएको हाे ।

रिनासँगको सम्बन्धको विषयमा छानबिनका लागि कमललाई सोमबार राति नियन्त्रणमा लिएको थियो । उनीहरू केही वर्षयता प्रेम सम्बन्धमा थिए ।

शनिवार बिहान रिनाको शव डेराअगाडि भुँईमा नग्न अवस्थामा भेटिएको थियो ।

पथरीमा आयोजित कन्सर्ट हेरेर मध्य रातमा कोठा फर्किएकी रिनाले कमलले फोन गर्दा उठाएकी थिइनन् ।

 रिनाको शव शनिबार बिहान विभत्स अवस्थामा भेटिएको थियो ।

शव भेटिएपछि आफन्त तथा स्थानीयले महिलाको हत्या भएको दाबी गर्दै आएका छन् । तर, पाेष्टमार्टम रिपोर्टले कुनै स्थानमा हत्या गरी फालेको भन्ने आशंकालाई पुष्टि नगर्ने प्रहरीले बताएको छ ।

अतिरञ्जित गर्ने मिडिया प्रहरी निगरानीमा

रिना बस्नेत मृत्यु प्रकरणको विषयलाई तोडमोड गरेर समाचार सम्प्रेशण गरेपछि प्रहरीले मिडियामाथि निगरानी सुरु गरेको छ ।

सिसि टिभी फुटेजका आधारमा तथ्यहीन विषयलाई अतिरञ्जित गर्न खोजेपछि प्रहरीले निगरानी सुरु गरेको प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । ठेलामा लास ल्याएर फालेको भन्ने प्रचारमा सत्यता नभएको बताउँदै उनले अर्नगल प्रचार गर्नेमाथि छानविन सुरु गरिएको बताए ।