Rumpum Advertisement

महिलाको मृत्यु शंकास्पद, बिरामी भनिएकी सिर्जनाको शरीरमा चोट

Neuro Revised Adv
Koshi Dashain ad
महिलाको मृत्यु शंकास्पद, बिरामी भनिएकी सिर्जनाको शरीरमा चोट

विराटनगर
मोरङको बेलबारीकी एक महिलाको मृत्यु शंकास्पद रहेको भन्दै छानविन गर्न आफन्तले माग गरेका छन् । बेलवारी नगरपालिका नगरपालिका–६ कसेनीकी २७ वर्षीय मुना भनिने सिर्जना राईको मृत्यु शंकास्पद रहेको आफन्तले अनुसन्धान गर्न माग गरेका हुन् ।

एक्कासी बिरामी परेकी राईलाई उपचार गर्न भन्दै श्रीमान् पर्वत राईले बिहीवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएका थिए । तर, उनको उपचारका क्रममा मृत्यु भएको थियो । माइती पक्षले यातना दिएका कारण मृत्यु भएको बताउँदै छानविन गर्न माग गरेका हुन् ।

उपचारमा धरान पुर्याउँदा जानकारी नदिइएको र अन्तिम अवस्था आईसीयूमा राख्नुपर्ने भएपछि खबर गरेको माइती पक्षको गुनासो छ । घटना संकास्पद भएको पाइएपछि उपचारमा संलग्न चिकित्सकले पनि शवको पोष्टमार्टम गर्न सुझाव दिएपछि बीपी प्रतिष्ठानमा खटिएको प्रहरीले पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाएको थियो ।

सिर्जनाको शुक्रबार दाहसंस्कार भएको आफन्तले बताएका छन् । प्रहरीका अनुसार उपचारका लागि पुयाउँदा सिर्जनाको अनुहार र नाकबाट रगत बगिरहेको थियो । माइती पक्षले श्रीमान् पर्वतले विगतदेखि नै कुटपिट गर्ने र अनेक यातना दिने गरेकाले त्यही कारण मृत्यु भएको आरोप लगाएको छ ।

पर्वत र सिर्जनाबीच ६ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुका ४ वर्षीय छोरा छन् । सिर्जनाकी दिदी बिर्सना राईले शुक्रबार घटनाको आवश्यक अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउनु पर्ने र दोषीलाई कारवाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएकी छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीले पनि चिकित्सकले घटनालाई शंकाको घेरामा राखेका कारण यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । इन्सपेक्टर रामकुमार राईले शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।