Rumpum Advertisement

सपनाको घर बनाउँदै जसोदा

Neuro Revised Adv
Koshi Dashain ad
सपनाको घर बनाउँदै जसोदा

शशाङ्क पौडेल
विराटनगर
मोरङको कटहरी–२ कदम गछिया मुसहर टोलका जसोदादेवी र सौदागर ऋषिदेव सपनाको घर बनाउन व्यस्त छन् । जनमिस्त्री आएका दिन दिनभर उनीहरूसँगै घर निर्माणमा खटिनुपर्छ भने जनमिस्त्री नआए इट्टा थन्काउन, बालुवा मिलाउन र छरिएका सामान मिलाउँदै उनीहरूको दिन बित्ने गर्छ ।

पेशाले ठेकेदार रहेका सौदागर अहिले ठेकेदारी छोडेर आफ्नै घर बनाउने सपना पूरा गर्न लागि परेका छन् । उनले घरको छत निर्माण ठेक्कामा गर्ने गरेका छन् । माटोको घरमा बढी पसेर खाटै भिजाउँदा जसोदाले आफ्नो ठूलो घर बनाउने देखेको सपना अहिले पूरा हुँदा मख्ख छिन् । जसोदा भन्छिन्, ‘यसरी ठूलो घर बनाउन पाउँदा अति नै खुसी छु, बाढी पसेको बेला भिजेको ओछ्यानबाट देखेको सपना आज पूरा हुदैछ ।’

उनी घर कसरी राम्रो बनाउने, के गर्दा होला, जनमिस्त्रीको खर्च कम गर्न भनेर दिनरात मेहेनत गरिरहेकी छिन् । सुकुम्बासी हुँदा ठूलो घरमा बस्ने सपना देखेर दिनरात एक गरेर श्रम गर्दै अहिलेको मूल्यांकनअनुसार करिब ५ लाखको जग्गा जोडेका उनीहरूले घर बनाउन पनि उत्तिकै खर्च गरेका छन् ।

सीपको अभाव, जनमजदूरी गरेर परिवारको पालन पोषण गर्दै आएका उनीहरूको जीवनमा बचत गर्ने बानीको विकास भएसँगै यस्तो परिवर्तनको श्रृंखला सुरु भएको हो । अहिले जसोदाले खानलगाउन नपुग्ने त्यो अवस्थाबाट पार पाउँदै जनमजदुरीसमेत गर्नु परेको छैन् । तर, त्यही टोलमा अहिले कतिपयको अवस्था जस्तै भरे के खाने पिरलो उनलाई पनि १० वर्ष अघिसम्म प्रत्येक दिन हुने गरेको थियो ।

३ जना सन्तानको लालनपालन गर्ने विषयमा उनले हरेक रात सोचेरै बिताउनु परेको समेत याद ताजा नै छ । त्यस टोलका करिब ८५ घरपरिवारमध्ये नै सबै भन्दा ठूलो घर जोड्ने उनीहरूको सपना पूरा हुन समय १० वर्ष लागेपनि सानो बचतको ठूलो प्रतिफलका रुपमा उनीहरूको सफलतालाई लिन सकिन्छ ।

टोलका अरु जस्तै अस्तव्यस्त जीवनशैली, कमाइको सबै फजुल खर्च गर्ने बानी उनीहरूको पनि थियो भने सपना अधुरो नै हुन्थो होला । सौदागरलाई ठेकेदार हुन पनि लामै समय लाग्यो । बजार क्षेत्रमा मजदूरी गर्दै गर्दा उनले सीप सिके । सीप सिकेपछि आफैँ ठेकेदार हुन पाए अझ धेरै कमाई गर्न सकिने उनले बुझेका थिए । तर, आफूसँग सबै सामान नहुँदा त्यो पूरा गर्न सकिरहेका थिएन ।

यहीबीचमा श्रीमती जसोदा ऋषिदेव जीवन विकास समाज लघुवित्तसँग जोडिइन् र बचतको महत्त्व बुझिन् । अनि सहज ऋण पाउने भएपछि सपना पूरा गर्ने बाटो भेटियो । त्यसपछि लगातार सानो सानो रकम बचत गर्दै ५ हजार रुपैयाँ ऋणबाट उनीहरूको उन्नतीको श्रृखंला सुरु हुन्छ ।

५ हजार रुपैयाँबाट आवश्यक्ता पूरा गर्दै जाँदा अहिले लाखौँ ऋण लिन समेत सक्ने भएका छन् भने हुर्किएका सन्तानलाई समेत स्वरोजगार बनाउन सक्षम पनि भएका छन् । जीवन विकासबाट पाएको ऋणले गिट्टिबालुवा मिसाउने मिक्सचर जोडेका उनीहरूले छोरा हुर्किएपछि उसको लागि समेत थ्रेसर जोड्ने हिम्मत गरे ।

परिवारमा छोरा र श्रीमानले दिनभर गरेको कमाइ साँझ परेसँगै जसोदाको हातमा पुग्छ । र, त्यो पैसाले के गर्ने भन्ने योजना उनै बनाउँछिन् । आत्माविश्वासले गर्दा अहिले उनी परिवारको मुखिया भएकी छिन् । सौदागर भन्छन्, ‘हामी त दिनभर खट्ने मात्रै हो, के गर्ने भन्ने योजना उनकै हुन्छ ।’

कहाँ ऋण तिर्न छ की बचत गर्ने सबै जसोदाकै योजना हो । ‘परिवारको सबै सदस्य स्वरोजगार बने सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझेका उनीहरूले मेहेनतलाई दोब्बर पार्दै प्रतिफल पनि उसैगरी लिन भ्याइरहेका छन् ।

अनी त विद्यालयसम्म नपुगेकी जसोदाको दुःख र भोगाईबाट ज्ञान लिँदै परिवारको एकता र सहकार्यमा जस्तो सुकै अबस्थालाई पार गर्दै सम्वृद्धिको यात्रा अझ लामो बनाउने दृढ विश्वास राख्छिन् । उनी भन्छिन्, ‘अझै उन्नती गर्दै जानु छ । अरु घडेरी जोड्ने र श्रीमानको व्यवसायलाई बढाउन हामीले अझै मेहेनत गर्न बाँकी नै छ ।’

जसोदाको सुझबुझ पूर्ण निर्णय र सौदागरको साथ र परिवारको मेहेनत गरेको उन्नतीमा छिमेकीहरूले पनि सफलताको सुत्र भेटेका छन् । र, उनीहरूकै पदचाप पछ्याउन थालेको कौशिला ऋषिदेवले बताइन् । उनले भनिन्, ‘उनीहरूले धेरै प्रगति गरेका छन्, उनीहरूले उन्नती गरेको देखेपछि हामीले पनि उन्नती गर्न सकिन्छ भन्ने बुझेर बचत गर्न थालेका छौँ ।’

छिमेकी सुनीता ऋषिदेवले समेत कौशिलाको भनाइमा सहमति जनाउँदै उनीहरूले बिस्तारै बिस्तारै यो सफलता हात पारेको बताइन् ।