Rumpum Advertisement

मोरङमा कृषि फर्ममा आगलागी, २ सयभन्दा बढी कुखुरा जले

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा कृषि फर्ममा आगलागी, २ सयभन्दा बढी कुखुरा जले

विराटनगर,
मोरङको कटहरी गाउँपालिकास्थित एक कृषि फर्ममा आगलागी हुँदा २ सय बढी कुखुरा जलेका छन् । कटहरी गाउँपालिका–५ नवटोलियास्थित कृति कृषि फर्ममा गएराति भएको आगलागीबाट खोरमा रहेका २ सय ५० वटा ब्रोइलर कुखुरा जलेर नष्ट भएका हुन् ।

आगालागीबाट कुखुरा पालनका लागि बनाइएको दुई वटा सेड तथा अन्य संरचनासहित भण्डारण गरिएको कुखुराको दाना तथा उपकरणहरू समेत जलेको छ । मध्यरातको दुई बजेको आसपासमा भएको आगलागी विराटनगर महानगरपालिकाबाट गएको दुईवटा दमकलका साथै स्थानीयवासीको सहयोगमा आज बिहान ६ बजे मात्र आगो नियन्त्रणमा आएको फर्म संचालक नितु कामतले जानकारी दिइन् ।

उनले आगलागीबाट कृषि फर्म परिसरमा रहेको सोलार सिस्टम, साइकल र मोटर लगायतका उपकरणहरूसमेत जलेर १२ लाख बढीको क्षति बेहोर्नु परेको जानकारी दिइन् । कृषि फर्म परिसरको दक्षिणतर्फ रहेको भुस राख्ने कोठाबाट आगालागी भएको प्रत्यक्षदर्शीलाई उद्धृतगर्दै उनले बताइन् ।

आगो सल्किएको भनिएको कोठामा बिजुलीबत्ती समेत जडान नगरिएको अवस्थाका कारण रिसिइबीले आगलागीको घटना गराइएको हुनसक्ने उनको दाबी छ । २०७२ सालमा विराटनगरको दुई वटा बैंकबाट २० लाख ऋण लिएर ब्यवसाय शुरु गरेको बताउँदै कामतले कृषि फर्मको बीमासमेत नगरेका कारण आफ्नो ब्यवसाय नै चौपट भएको गुनासो गरिन् ।