Rumpum Advertisement

हुरी पिडितलाई विराटनगरको सहयोग

Neuro Revised Adv
Koshi Dashain ad
हुरी पिडितलाई विराटनगरको सहयोग

विराटनगर, चैत्र २६ ।

विराटनगर महानगरपालिकाले हुरीबातसबाट प्रभावित बारा पर्साका पीडितलाई राहत उपलब्ध गराएको छ ।  महानगर प्रमुख सहित गएको टोलीले अति प्रभावित फेटा गाँउपालिका पुगेर पीडितलाई राहत उपलब्ध गराएको हो ।

चैत १७ गते साँझ ७ बजे अप्रत्याशित रुपमा आएको विनाशकारी हावाहुरीबाट पीडित भएकाहरुलाई महानगरपालिकाले राहत उपलब्ध गराएको हो । महानगर प्रमुख भीम पराजुलीको नेतृत्वमा गएको टोलीले अतिप्रभावित फेटा गाँउपालिका पुगेर पीडितलाई दैनिक जीवनमा आवश्यक पर्ने अतिआवश्यक सामाग्रि उपलब्ध गराएको छ ।

महानगर प्रमुख पराजुली सहित उपप्रमुख इन्दीरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी र महानगरका कर्मचारी सम्मिलित टोलीले त्यहां पुगेर पीडितको अवस्था अवलोकन गर्नुका साथै राहत उपलब्ध गराएको हो ।

फेटा गाँउपालिकाका १ सय पीडित परिवारकालागि महानगरपालिकाले राहतस्वरुप भात पकाउने भांडा १ सय थान, कराई १ सय, पुन्यु १ सय, ब्लाङ्केट, इमर्जेन्सी लाईट, प्लास्टीकको बाल्टिन र मग एक एक सय, चप्पल २ सय जोडी र एकसय थान साडी उपलब्ध गराएको छ ।

फेटा गाँउपालिका परिसरमा आयोजित राहत हस्तान्तरण कार्यक्रमकाबीच जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल र गाँउपालिका प्रमुख अमिरीलाल प्रसादलाई राहतस्वरुप लगिएको सामाग्री हस्तान्तरण गरिएको थियो ।

फेटा गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले विराटनगर महानगरपालिकाको टीमलाई राहत सहयोगकालागि धन्यबाद ज्ञापन गरे । विराटनगर महानगरपालिकाले त्यसभन्दा पृथक र अतिआवश्यक सामाग्रि ल्याएकोमा समेत धन्यबाद दिए ।

राहत बितरणलाई ब्यवस्थित गर्न पीडितहरुलाई कार्ड उपलब्ध गराएर राहत दिने क्रम जारी रहेको उनले बताए ।

चैत १७ गते सांझ आएको बिनासकारी हुरीबतासबाट फेटा गाँउपालिकामा १८ जना र अन्य क्षेत्रका गरि २४ जनाको मृत्यु हुनुका साथै २ हजार बढी घर आंशिक र पुर्णरुपमा क्षति भएको छ ।