Rumpum Advertisement

विकासको गति बढाउन प्रदेश एकमा लगानी सम्मेलन गरिँदै

Neuro Revised Adv
Koshi Dashain ad
विकासको गति बढाउन प्रदेश एकमा लगानी सम्मेलन गरिँदै

विराटनगर
एक नम्बर प्रदेश सरकारले विकासको गति अगाडि बढाउन प्रादेशिक लगानी सम्मेनल आयोजना गर्ने तैयारी थालेको छ । एक नम्बर प्रदेशका विभिन्न स्थानमा रहेका महत्वपूर्ण दुई दर्जन आयोजनाहरूलाई समेटर एउटा परियोजना बैँक स्थापना गरी लगानी सम्मेलन गर्ने तैयारी थालेको हो ।

देशी र बिदेशी लगानीकर्ताहरूलाई बोलाएर प्रादेशिक लगानी सम्मेलन गरिसकेपछि एक नम्बर प्रदेशको विकासले फड्को मार्ने मुख्यमन्त्री शेरधन राईले बताए । मुख्यमन्त्री राईका अनुसार चालु वर्षभित्रै प्रदेशका मुख्य लगानीका क्षेत्रहरू पहिचान गरेर प्रदेश सरकारले योजनाहरू निर्माण गरी परियोजना बैँक स्थापना गर्नेछ । त्यसपछि उपयुक्त अवसर पारेर प्रादेशिक लगानी सम्मेनलको आयोजना गर्नेछ ।

सरकार बनेको एक वर्ष बितिसके पनि संरचनाको अभाव र कानून निर्माणको कारणले गर्दा विकासले गति लिन नसकेको एक नम्बर प्रदेश सरकारको गुनासो छ । तर, अब संरचना पनि निर्माण भैसकेको र अति आवश्यक कानून पनि बनिसकेकोले लगानी सम्मेलनपछि विकासले गति लिने मुख्यमन्त्री राईको विश्वास छ ।

मुख्यमन्त्री राई भन्छन्, ‘एकवर्ष हामी आन्तरिक समस्याले गर्दा विकासको गतिमा दौडन सकेनौँ, सुस्त भयौँ । तर, सचेत भएर हामीले बिस्तारै गति लिन थालिसकेका छौँ । लगानी सम्मेनलपछि हामी दौडने छौँ ।’

नयाँ वर्षसँगै राजधानी र प्रदेशको नाम

मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ सँगै एक नम्बर प्रदेशले स्थायी राजधानी र नाम प्राप्त गर्ने बताएका छन् । सोमबार प्रेस चौतारी र प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री राईले चालु अधिवेशन बैशाख पहिलो हप्तासम्म मात्र संचालन हुने र त्यत्तिखेरसम्म प्रदेशको नाम र राजधानीको मुद्दा किनारा लागिसक्ने बताएका हुन् ।

उनले राजधानी र प्रदेशको नामाकरण भएपनि सरकारलाई विकासको काम अगाडी बढाउन सहज हुने बताए ।

राष्ट्रिय पत्रकारिता दिवसमा अग्रज पत्रकार पुरस्कृत गर्ने

एक नम्बर प्रदेश सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर अग्रज पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सरकारले घोषणा गरेको राष्ट्रिय पत्रकारिता दिवस २४ बैशाखका दिन प्रदेशका अग्रज पत्रकारलाई प्रदेश सरकारले विशेष पुरस्कारले सम्मानित गर्ने भएको हो ।

मुख्यमन्त्री शेरधन राईले पत्रकारिता दिवसका दिन प्रदेश सरकार आफैँले भव्य समारोह आयोजना गरेर प्रदेशमा बिशिष्ट योगदान दिने अग्रज पत्रकारलाई सम्मान गर्ने जानकारी दिए ।

पत्रकारहरुलाई पुरस्कृत गर्नका लागि गत बर्ष नै एक प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्यदल बनाएको थियो । तर, उक्त कार्यदलले प्रत्येक वर्ष विशेष अवसरमा प्रदेशका एक जना अग्रजलाई एक लाख र एक जना उदयमान पत्रकारलाई पचास हजार रुपैयाँको पुरस्कार दिने प्रस्ताव गरेपनि सरकारको चासो कम नदिँदा कार्यक्रम अगाडि बढ्न सकेको थिएन ।

आम सञ्चार प्रतिष्ठान घोषणामै सीमित

एक नम्बर प्रदेश सरकारले प्रदेशको पत्रकारिता विकासको लागि आम सञ्चार प्रतिष्ठान गठन गर्ने नीति कार्यक्रममा घोषणा गरेपनि अझै काम अगाडि बढ्न सकेको छैन । प्रतिष्ठान स्थापनका लागि सरकारले कार्यदल गठन गरेर बजेट बिनियोजन गरेपनि सरोकारवाल मन्त्रालयले चसो नदिँदा प्रतिष्ठान निर्माण कार्य अलपत्र परेको हो ।

यद्यपि, मुख्यमन्त्री शेरधन राईले प्रदेशको सञ्चार क्षेत्रको विकास लागि कानून निर्माण गर्न र प्रतिष्ठान गठन गर्न सरकार प्रतिबद्ध भएको बताउँदै आएका छन् ।