Rumpum Advertisement

गृहको परिपत्रपछि नागरिकता लिनेको भीँड, मोरङमा टोकन अनिवार्य

Neuro Revised Adv
Koshi Dashain ad
गृहको परिपत्रपछि नागरिकता लिनेको भीँड, मोरङमा टोकन अनिवार्य

विराटनगर
जन्मका आधारमा नेपाली नागरिकता पाएका बुबाआमाका सन्तानलाई बंशज नागरिकता दिन गृहमन्त्रालयले परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा नागरिकता लिनेको भीँड बढेको छ ।

चैत १९ गतेको मन्त्रीस्तर निर्णयबाट गृहमन्त्रालयले ७७ वटै जिल्लालाई जन्मसिद्धका आधारमा नागरिकता लिएका आमा बुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा नागरिकता बनाउनेको भीँड बढेको हो ।

नागरिकता बनाउनेको भीँड बढेपछि मोरङमा भने टोकन सिस्टम लागू गरिएको छ । मंगलबार परिपत्र भएपछि बुधबारबाट जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता बनाउनेहरूको भीँड लागेको हो । नागरिकता बनाउने सेवाग्राहीको भीँडका कारण शुक्रवार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्वार नै बन्द गरेको थियो ।

नागरिकता लिनेहरूको भीँडलाई व्यवस्थीत गर्न आइतबारबाट टोकन सिस्टम लागू गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् । ‘८ गतेसम्मको टोकन गई सक्यो,’ पाण्डे भन्छन्, ‘अब आउनेहरूले ९ गतेको टोकन पाउँछन् ।’

प्रशासन कार्यालयले दैनिक सरदर ५० वटा नागरिकता वितरण गर्दै आएको थियो । तर, गृह मन्त्रालयको परिपत्रपछि गर्ने प्रशासन कार्यालयले तीन दिन यता दैनिक सरदर २ सयदेखि २ सय २५ वटा नागरिकता वितरण गर्दैछ । ‘परिपत्रपछि नागरिकता बनाउन आउनेलाई दैनिक १ सय ५० वटा टोकन बाँडेका छौँ,’ पाण्डेले भने ।

जिल्ला प्रशासन कार्यालयले दुईवटा कम्युटरमा सिस्टम जडान गरी नागरिकता प्रदान गर्दै आएको छ ।

अस्पष्ट परिपत्र सकस

सरकारले निर्माण गरेको नागरिकता बिधयेक संघीय संसदमा विचाराधीन अवस्थामा छ । नागरिकता ऐन विचाराधीन अवस्थामा जारी भएको परिपत्रले सर्वसाधरण र कर्मचारी दुवैलाई अलमलमा पारेको छ ।

परिपत्र स्पष्ट नहुँदा आमा–बुबामध्ये एक जना मात्रको नागरिकता भएकाहरू पनि आउने गरेका छन् । तर, परिपत्रमा आमा बुबाको नागरिकता भएको हुनुपर्ने उल्लेख छ । स्पष्ट नभएका कारण नागरिकता बनाउन आएका धेरै सर्वसाधरण खाली हात फर्कने गरेका छन् । नागरिकता ऐन जारी नभएको अवस्थामा एक्कासी आएको परिपत्रले अनेक शंकाहरू उब्जाएको सरोकारवालाहरू बताउँछन् ।