Rumpum Advertisement

रमिला राई हत्या प्रकरण : ‘बिहेको निहुँमा मुख थुन्दा ज्यान गयो’

Neuro Revised Adv
Koshi Dashain ad
रमिला राई हत्या प्रकरण : ‘बिहेको निहुँमा मुख थुन्दा ज्यान गयो’

विराटनगर, चैत २४
मोरङको बेलाबारी नगरपालिका– ४ कि २८ वर्षीया रमिला राईको हत्या आरोपमा पक्राउ परेका योगेन्द्र गुरुङले बिहेको निहुँमा कुटपिट गर्दा ज्यान गएको बयान दिएका छन् । ६ वर्षयता प्रेमसम्बन्धमा रहेका गुरुङले बिहेको निहुँमा झगडा हुँदा मुख थुनेर हत्या गरेको बयान दिएका हुन् ।

गत फागुन १७ गते गुरुङले आफ्नै घरको भुँइतलाको बरण्डा कोठाभित्र काखमा राखी दुवै हातले करिब १० मिनेट नाक र मुख बन्द गर्दा रमिलाको ज्यान गएको अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । ‘रमिला मदिराको नाशामा थिइन्, अपशब्द प्रयोग गर्दै गाली गर्न थालेपछि मैले मुख बन्द गरेको थिएँ,’ प्रहरीसँगको बयानका क्रममा योगेन्द्रले भनेका छन्, ‘करिब १० मिनेटसम्म मुख बन्द गर्दा रमिला बोल्न छोडिन् ।’

राई र गुरुङको करिब ६ वर्षसम्म प्रेमसम्बन्ध रहेको थियो । समाजमा प्रतिष्ठित कहनिएका गुरुङलाई प्रेमिका राईले विवाह गर्न दबाब दिएपछि हत्या गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो ।

गत फागुन १७ गते साँझ रमाइलो गर्ने भन्दै योगेन्द्र रमिलासँगै जलिना र बिक्रम राईसहित चार जना योगेन्द्रले प्रयोग गरिरहेको बा१५च७९१६ नम्बरको आइट्वेन्टी कार लिएर विराटचौकको हवाना रेस्टुरेन्ट पुगे ।

होटलमा रमिला जलिना र बिक्रमले मापसे गरे तर योगेन्द्रले गरेनन् । राति ११ बिक्रम र जलिनालाई घर छेउमा छाडेर योगेन्द्रले रमिलालाई लिएर घर गए । विराटचौकबाट आउने क्रममा रमिलाले घरमा छाड्दिन भनेकी थिइन् । तर, योगेन्द्रले आफू पनि सँगै बस्ने बताएपछि योगेन्द्रकै घर जान राजी भइन् ।

तर, मापसे गरेकी रमिलाले योगेन्द्रको घरमा पुगेपछि विवाहको कुरा निकालिन् । विवाहकै कारण उनीहरूबीच पटक–पटक झगडा पनि भएको थियो । रातको समयमा ठूलो स्वरमा विवाहको कुरा गरेपछि योगेन्द्रले रमिलालाई कोठामा हातले घचेडी दिए ।

हुत्तिएर खाटमा ठोक्किएकी रमिला लडिन् । उठाएर खाटमा राखेका योगेन्द्रले फेरि दुवै हातले रमिलाको मुख थुने । हातखुट्टा छटपटाइ रहुनजेलसम्म मुख थुनेका योगेन्द्रले हलचल गर्न छाडेपछि हात निकाले ।

योगेन्द्रको घर करिब १ बिगाहा जग्गाकोबीचमा छ । घरमा लगाएको पर्खालले गर्दा उनको घरको हल्ला हत्तपत्त बाहिर सुनिँदैन् । फागुन १७ गते मध्य रातमा भएको हल्ला पनि कसैले सुनेनन् ।

रमिलालाई भुई तल्लाको कोठामा छाडेर आफ्नो कोठाबाट लुगा फेरेर निस्किएका योगेन्द्रले रमिलाको शरीर छाम्दा चिसो भइसकेको थियो । हत्या भएपछि शव व्यवस्थापन गर्न योगेन्द्रले रमिलाको हात खुट्टा बाधे, कोठामै रहेको प्लाष्टिकले शरिरमा बेरे ।

भुइँको रगत पुछ्न कोठाको पर्दा प्रयोग गरे । गाडीको डिकीमा अटाउने गरी बोरामा शव हालेर २ बजे घरबाट निस्किए । सुरुमा शव बेतनाको जंगलमा शव फाल्ने योजना बनाएका थिए । तर, शव भेटिए आफूमाथि शंका हुने भएकाले धरानको जंगलमा फाल्ने योजना बनाए ।

हतारमा निस्किएका गुरुङले घरबाट पर्स बोक्न बिर्सिएका थिए । राति साढे २ बजे आफ्नै नोबेल अस्पतालको काउण्टरबाट पैसा लिएर धरान जंगलका लागि निस्किएका थिए । तर, इटहरी आइपुगेपछि उनको मन बदलियो ।

धरान जाने योजना बनाएका उनी शव बेपत्ता बनाउन सप्तकोशी तर्फ हानिए । सप्तकोशी नदी पुगेका गुरुङले सप्तरीतर्फको २९ नम्बर ढोका खुल्ला भएको थाहा पाएपछि शव फालेर गाडी घुमाएर पुनः घर फर्किए ।

भोलिपल्ट फागुन १८ गते दिउँसो पुनः शवको अवस्था बुझ्न कोशी व्यारेज पुगे । साथमा थिए बिष्णु चुहान् । एक वर्षयता गुरुङको अस्पतालमा एकाण्टेन्टको काम गर्ने चुहानले नै १७ गते राति २ बजे काउण्टरबाट निकालेर पैसा दिएका थिए ।

बिहान रमिला हराई भन्दै अस्पताल पुगेका गुरुङले सप्तकोशीमा आत्महत्या गरेको हुन सक्ने बताउँदै चुहानलाई साथि लिएर निस्किए । दिउँसो २९ नम्बर ढोका हुँदै पुलपारी बस्ने सप्तरीका स्थानीयसँग शव कतै देखियो की भनेर सोधी खोजी गरे ।

पुलदेखि केही तलसम्म पुगेका गुरुङले शव नदेखेपछि ढुक्क भएर घर फर्किए । घर फर्किएपछि रमिलाको परिवारमा पुगेर आफ्नै अगुवाईमा इलाका प्रहरी कार्यालयमा महिला हराएको निवेदन दिए ।

उजरी गरेपछि सम्भावित स्थानमा प्रहरीसँगै खोजी गर्न निस्किए । बेतनाको जंगल र आसपास प्रहरीसँग खोजी गरेका गुरुङ शंकाको सुई आफू तर्फ तेर्सिएपछि बेलवारी छाडेर भागे ।

अनुसन्धानको सुई आफूतिर सोझिएपछि योगेन्द्र फागुन २४ गते इलामको पशुपतिनगर हु“दै आफन्तकोमा दार्जिलिङ्ग पुगे । दार्जेलिङबाट पुनः इलामतर्फ आउँदै गर्दा प्रहरी टोलील फागुन २६ गते पक्राउ गरेको थियो ।

६ वर्षको दौरानमा आफ्नो घरमा बस्दा गुरुङले रमिलालाई राति साढे ४ बजे स्कूटरमा घर ल्याएर छाड्ने गरेका थिए । १७ गते रातिसँगै बसेर १८ गते बिहान ४ बजे घरमा छाडेको गुरुङले बयान दिएका थिए । तर, कल डिटेलको रिपोर्ट (सिडिआर)ले गुरुङमाथिका शंका झनै बढायो ।

पक्राउ परेपछि उनले घटनाको बास्तविकता लुकाउन खोजे । तर, इटहरीबाट पश्चिम लागेको सिसीटिभी फुटेज फेला परेपछि गुरुङको बहानाबाजी बन्द भयो । अन्ततः हत्या गरेको स्वीकार गरे । प्रहरीसमक्ष हत्या गर्नुको कारण विवाह नै भएको बताए ।

गुरुङ जेल चलान

२८ वर्षीया प्रेमिका राईको हत्या गरेको आरोपमा पक्राउ परेका गुरुङ कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङको श्रेस्तेदार इश्वरमणि ओझाको इजालसले शुक्रवार गुरुङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको मुलुकी फैजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ बमोजिम पूर्पक्षको लागि थुनामा राख्न दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएको हो । न्यायाधीशको अनुपस्थितीमा श्रेस्तेदार ओझाले थुनछेकको आदेश दिएका हुन् ।

उक्त आदेशमा जिल्ला न्यायाधीश आएपछि आदालतको नियमावली, २०७५ को नियम १०(४) बमोजिम पुनर्विचारको लागि इजालसमा पेश गरिनेछ । इलाका प्रहरी कार्यालय बेलवारीले अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा शुक्रबार गुरुङलाई ‘कर्तब्य ज्यान’ मा मुद्दा दर्ता गरेको थियो ।