Rumpum Advertisement

पूर्वाञ्चल विश्वबिद्यालयमा गुपचुप फेक सर्टिफिकेट काण्ड

Neuro Revised Adv
Koshi Dashain ad
पूर्वाञ्चल  विश्वबिद्यालयमा गुपचुप फेक सर्टिफिकेट काण्ड

विराटनगर।

पूर्र्वाञ्चल विश्वविद्यालयमा जाली सर्टिफिकेटलाई सक्कली भनेर सुटुक्क रजिष्टार प्रमीला थापाले सिफारिस गरेको ईमेल काण्ड गुपचुप भएको छ । अज्ञात बिदेशी नागरिक तिलाहु आगुने मुलुसेवा नामका बिद्यार्थीले प्राप्त गरेको भनिएको पूर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ कलेजको जाली सर्टिफिकेटलाई रजिष्टार प्रमिला थापाले आधिकारिक इमेल मार्फत फेक होइन एकदम सक्कली हो भनेर सिफारिस गरेको काण्ड महिनौ बितिसक्दा पनि गुपचुप रहेको हो ।

काठमाण्डौं सितापाइला स्थित एक्मी ईन्जिनियरिङ कलेजमा पढेर प्राप्त गरेको भनिएको पूर्वाञ्चल विश्वविद्यालयको बिदेशी बिद्यार्थी तिलाहु आगुनेको सर्टिफिकेट नक्कली कि सक्कली के भनेर प्रमाणीकरण गरिदिन संगीता राउत नामकी एजेन्टले ६ फरवरी २०१९ मा इमेल पठाएकी थिइन । उक्त ईमेल प्राप्त हुनासाथ एक्मि कलेजले बिद्यार्थी आफुकहाँ कहिल्यै नपढेको र सर्टिफिकेट पनि नक्कली हो उनलाई कानुनी कारवाही गर्नु भनेर जवाफ दिएको थियो ।

तर पुन एजेन्ट संगीता राउतले पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्टार प्रमीला राउतलाई १२ फरवरी २०१९ मा प्रमाणपत्र सक्कली हो कि नक्कली भनेर आधिकारिता खुलाउन ईमेल गरेकी थिइन । ईमेल प्राप्त हुनासाथ रजिष्टार थापाले परिक्षा नियन्त्रण कार्यालयलाई कुनै जानकारी नदिई र राय समेत नलिई विदेशी बिद्यार्थीको सर्टिफिकेट सक्कली भएको बिवरण पठाएर जाली शैक्षिक प्रमाणपत्रलाई आधिकारिकता प्रदान गरेकी थिइन ।

पुर्वान्चल विश्वबिद्यालयको कार्यालय भवन

तर एजेन्सीले पुन विद्यार्थीको शैक्षिक प्रमाणपत्र सक्कली हो नक्कली भनेर १९ फरवरीमा विश्वविद्यालको परिक्षा नियन्त्रण कार्यालयलाई ईमेल पठाएर रजिस्ट्रार  सक्कली हो भनेर पठाएको सर्टिफिकेट के कस्तो भनेर प्रतिक्रिया दिन भनेको थियो । आन्तरिक अनुसन्धान गर्ने क्रममा ती बिद्यार्थीको शैक्षिक प्रमाण पत्र पुर्ण फर्जी भएको पाइएपछि परीक्षा नियन्त्रण कार्यालयले तुरुन्त २१ फरवरीमा फेक सर्टिफिकेट हो भनेर एजेन्सीलाई जानकारी गराएको थियो । तर फेरि २२ फरवरीमा पनि एजेन्सिले दोहोरयाएर सर्टिफिकेटको आधिकारिकता सोधेपनि परिक्षाले सोही दिन पुरानै जवाफ फर्काएर प्रमाणपत्र नक्कली हो भन्ने प्रस्टयाएको थियो ।

बिश्वबिद्यालयले सम्बन्धन दिएका कुनै पनि कलेजमा नपढेको बिद्यार्थीले नक्कली ईन्जिनियरको प्रमाण पत्र प्रयोग गरेको र त्यसलाई सुटुक्क रजिस्ट्रार  नै सक्कली भनेर सिफारिस गरेको खुलेपछि पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा खैलाबैला मच्चिएको थियो । प्राध्यापक र कर्मचारीहरुले यो प्रकरणलाई अनुसन्धान गर्न माग गरेका थिए । तर रजिष्टार थापाले चाँही आफुलाई कसैले सुनियोजित रुपले फसाएको भन्दै २२ फागुन २०७५ मा कान्तिपुर दैनिकमा विज्ञप्ति प्रकाशित गरेर प्रहरीमा साइबर क्राइम अन्र्तगतको अपराध दर्ता गराएर छानबिन गराई दोषी पत्ता लगाउने प्रतिबद्धता जाहेर गरेकी थिइन ।

तर एक महिना बितिसक्दा पनि रजिस्ट्रार  थापाले अझैसम्म प्रहरीमा मुद्दा दर्ता गराएकी छैनन् । यसैले नक्कली प्रमाणपत्र प्रमाणीकरण काण्डमा रजिस्ट्रार  थापा नै संलग्न भएको र कुनै ठूलै शक्ति केन्द्र वा गिरोहले उनलाई दवाब वा प्रभावमा पारेको शंका बलियो भएको छ । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुले फेक सर्टिफिकेट काण्ड कुनै एक व्यक्तिको मात्र नभएर यसैको कारण विश्वविद्यालयको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विगारेको बताएका छन् । यही कारण यो बिषयलाई गुपचुप बनाउन नहुने र आधिकारिक निकायबाट प्रष्ट छानबिन हुनुपर्ने माग गरिरहेका छन ।

धेरैले फर्जी सर्टिफिकेट काण्डमा ठूलै गिरोहको हात भएको र देशी बिदेशी कुटनैतिक नियोगहरुमा एजेन्टहरु घुसाउनकालागि गम्भिर चलखेल गरेको आशंका पनि गरिएको छ ।

नियम मिचेर सहडीन नियुक्त

पूर्वाञ्चल विश्वविद्यालयमै उपकुलपति (भिसी) डाक्टर घनश्यामलाल दासले विधान र निमय मिचेर समन्वय महाशाखा प्रमुख राजेश झालाई सहडिनमा नियुक्त गरेको खुलेको छ । भिसी दासले नियम विपरीत भिट्टो प्रयोग गरेर शैक्षिक योग्यता समेत नपुगेका झालाई सह रजिष्टारमा नियुक्त गर्नुपर्ने कारण विश्वविद्यालयमा सुरु हुन थालेको एक सय करोड बरावरको भौतिक निर्माणका परियोजनाको कमिसनकै लागि भएको बताइएको छ ।

 

नेपाली काँग्रेस सर्मथक भिसी घनश्यामलाल दासले निमय अनुसार बरिष्ठ प्राध्यापकहरु मध्येबाट सह रजिष्टार नियुक्त गर्नुपर्नेमा शैक्षिक प्रमाणपत्र समेत अख्तियारमा मुल्तवीमा रहेको अबस्थामा आईटी बिषयका शिक्षक झालाई भिट्टो प्रयोग गरेर नियुक्त गरेका थिए । यो विषय सहकुलपति रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले थाहा पाएपछि हाल झालाई कामकाज गर्नकालागि परिपत्र गरेरै रोक लगाइसकेका छन । तर शैक्षिक प्रतिष्ठानमा राजनैतिक हस्तक्षेप गरेको भन्दै नेपाली काँग्रेसले झाको पक्षमा सर्मथन जनाउदै आन्दोलन सुरु गरेको छ ।

परीक्षा नियन्त्रणमा भुक्तानी बिवाद

पूर्वाञ्चल विश्वविद्यालय  परीक्षा नियन्त्रणको काठमाण्डौ सम्पर्क कार्यालयको बिवाद केन्द्रीय कार्यालयसम्म पुगेको छ । काठमाण्डौ सम्पर्क कार्यालयमा रहेका भट्टराई थरका कर्मचारीले अनियमितता गरेको आरोपमा परिक्षा नियन्त्रणले विराटनगर स्थित कार्यालयमा तानेपनि उनलाई पुन केन्द्रीय कार्यालयमा काजमा हाजिर गरेर संरक्षण गरिएको छ । स्रोतका अनुसार सम्पर्क कार्यालयमा उत्तरपुस्तिका खरिद सम्बन्धी भुक्तानीको बिषयमा परिक्षा कार्यालयका पदाधिकारी र कर्मचारी भट्टराईबीच मनोमालिन्य भएपछि उनि विराटनगर तानिएका थिए ।

तर छानबिन गरेर कार्वाही गर्नुपर्ने कर्मचारीलाई कार्वाही गरेमा लहरो तान्दा पहरो जाने डरले केन्द्रीय कार्यालयमा काज सरुवा गरेर संरक्षण गरेको पुष्टी भएको भन्दै घटनाको छानिबिन हुनुपर्ने माग केन्द्रिय कार्यालयमा बढन थालेको छ । हाल काठमाण्डौ सम्पर्क कार्यालयमा परीक्षाले किशोर प्रधानलाई अधिकृतका रुपमा खटाएको छ ।