मङ्लबार, फाल्गुन १०, २०७३
Home / शनिबारीय / कविता / नचाहेको युद्ध

नचाहेको युद्ध

           | शुभलक्ष्मी लम्साल|

 
इतिहासको बिछ्यौनामा
ओढेर आलो रगत
सधैं–सधैं एकपछि अर्को
ब्युँझाएर मुर्दाहरूको स्तुति
अनि बाँचेकाहरूको गुणगान
अब कति दिन रट्ने !

कर्तव्यको निरन्तरतामा
पहराको डोरीमा अल्झेर
सुुन्तलीहरूले रहरको सपना बाँड्दै
मृत्यु शड्ढयामा
मिठो निन्द्रा कहाँबाट खोज्ने ?

ए युगका संवाहक हो !
सुन–
क्रान्ति कागजमा होइन
सितन लिएर आओस् खाली चुल्होमा
दीप्त अक्षर बनेर आओस्
गाईगोठ बनेका स्कुलमा
मल्हमपट्टी लिएर आओस्
शवगृह बनेका अस्पतालमा ।

नभए–
कहिल्यै चप्पल नलगाएको
हरिया दाजुको पैतालाका रापहरू
यति तातो नबनोस् कि
बस्ती–बस्तीमा आगोका लप्काहरू दन्कियोस् ।

सोलुकी डोल्मा दिदीको गालामा फुलेको गुराँसमा
यति शूल नभरियोस् कि
गुराँसबाट पनि रगत बगोस् ।

फलाममा घोटिँदा–घोटिँदा
विश्वकर्मा दाजुको जीवन
आरनजस्तै कालो नबनोस् !

सुकिलाहरूको दैनिकीले नसोचेको
कहिल्यै नधोइएको
ओलाङचुङगोलाको बालकको मुखमा
घाउहरू कटकटिएर
भेडा खेद्दा खेद्दै
उसका रहरहरू नखेदियोस् !

ए युगका संवाहकहरु हो !
अब–
बाल्नुपर्दैन दियालो
तिमीहरूले एउटा पनि
आफैं सल्किन्छ हजारौं ।

होशियार !
हिजोका भेडा डुलाउने बालकहरू
फेरि आउने क्रान्तिको योद्धा नबनून्
कैयौं हरिया दाजुहरूले फेरि ज्वाला नदन्काऊन् ।

सुन्तलीहरूका पिँढीमा
फेरि खिलखिलाएर फुल्ने तोते बोलीको साटो
गर्जिने बारुदको कारखाना नबनोस्
करोडौं आगोहरू सुरुङमा बाफिएर
स्वतः युद्ध नबनोस् ।
०००

प्रतिक्रिया दिनुहोस: