शनिबार, फाल्गुन १४, २०७३
Home / शनिबारीय / अन्तरवार्ता / ‘कविता मारामार बिक्ने चिज हैन’

‘कविता मारामार बिक्ने चिज हैन’

झापाली युवा कवि नवीन प्राचीनको पहिलो कवितासंग्रह ‘उभिएर एक्लै’ भर्खरै प्रकाशनमा आएको छ । कविताका अंग्रेजी अनुवाद पनि संग्रहमा उपलब्ध छन् । यही सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीः


पहिलो कवितासंग्रहको बजार प्रतिक्रिया कस्तो छ ?
अहिले प्रारम्भिक प्रतिक्रिया पाइरहेको छु । हालसम्मका पाठक तथा शुभचिन्तकका प्रतिक्रयाबाट म उत्साहित छु ।

संग्रहमा कस्ता कविता छन् ?
खै ! कस्ता भनौं ? पहिला त कविले आफ्नै लागि लेखेका कविता छन् । अब यी कविता अरूका पनि भएका छन् ।

मोफसलबाट उठेको कविलाई काठमान्डूसम्म आइपुग्न कति गाह्रो भयो ?
कविता लेख्न वा लेखेर मलाई कहीं पुग्नु थिएन । र, कविताकै माध्यमबाट राजधानीसँग उठबस गर्न वा संगत गर्न त्यस्तो गाह्रो–सजिलोको अनुभूति मलाई भएन । बरु यसो भनूँ– धेरै संयोग र संगतले सहयोगी भूमिका खेल्यो ।

सामान्यतः प्रकाशकहरूले कविताका किताब छाप्न आनाकानी गर्छन् । नयाँ कविका कृति छाप्न झनै गाह्रो होला । यसमा तपार्ईंको अनुभव कस्तो रह्यो ?
कविताको बजार सानो देखिएकाले व्यावसायिक संस्थाले आफ्नो लगानीको सुरक्षा र मुनाफामा ध्यान दिने हुँदा कविता छाप्ने प्रकाशक पाउन सजिलो छैन, यो साँचो हो । तर, मेरो हकमा म भाग्यमानी रहें । मैले प्रकाशक खोज्न भौतारिनु परेन ।

अहिलेको साहित्य लेखन पहिचान र अधिकारका पक्षमा छ वा हुनुपर्छ भनिन्छ । तपार्ईंको कविताकर्मका अन्तर्वस्तु यिनै हुन् कि फरक छन् ?
हाम्रो सामाजिक चेतना र परम्परामा समसामयिकताको ठूलो प्रभाव रहन्छ । राजनीतिक र सामाजिक बहस संघीयता, पहिचान र अधिकारका विषयमा केन्द्रित रहेको यो समयमा कवि–लेखकले आ–आफ्नो ठाउँबाट सामाजिक दायित्व बहन गरिरहेका छन् ।
तर, ‘उभिएर एक्लै’मा रहेका कविताचाहिँ बढी अन्तरसंवाद गर्ने स्वभावका छन् । पाठकलाई मेरा कविता केही फरकजस्ता लाग्लान् ।

हाम्रो साहित्यमा व्यापक गुटबन्दी छ भनिन्छ । नयाँ पुस्तामा यो अझै बढेको सुनिन्छ । तपार्ईं त मोफसलबाट काठमान्डू हाम फालेको मान्छे, कतातिरको गुटमा पर्नुहुन्छ ?
पहिलो कुरा त सिर्जनामा मोफसल र केन्द्र भन्ने कुराको बोध मलाई कहिल्यै भएन । बरु, पूर्वमा रहँदाको साहित्यिक सक्रियता काठमान्डू पुगेपछि शून्यजस्तै भयो । यसर्थ म न मोफसलको गुटमा पर्छु, नत काठमान्डूको । यत्ति हो– आजसम्म मैले गुट–उपगुट झेल्नुपरेको छैन । मेरा लागि त आफ्ना कविता नै गुट हुन् ।

एउटा कवि–लेखकलाई गुट किन चाहिन्छ ? यसले साहित्यलाई फाइदा बढी गर्छ कि बेफाइदा ?
समाजमा एकै किसिमको सोच, प्रवृत्ति, विचार भएका मानिसको समूह बन्नु स्वभाविक हो । तर, हामी यहाँ गुटको कुरा गरिरहेका छौं । गुट अलि फरक र गलत स्वार्थ भएका मानिसहरूको हुन्छ कि जस्तो लाग्छ । व्यापारीहरूले चलाउने सिन्डिकेटजस्तो गुटले असल साहित्यकर्मलाई हित गर्दैन भन्ने लाग्छ ।

नयाँ पुस्ता केही हतारोमा, केही लडहमा कविता लेखिरहेका छन् भन्ने आरोप लाग्ने गर्छ नि, तपार्ईं के भन्नुहुन्छ ?
जसले जसरी भएपनि लेखिरहेका छन् । जसले जे भएपनि पढिरहेका छन् । कम्तीमा उनीहरूले केही सिर्जना त गरिरहेका छन् । लेखेर कोही लामो समयसम्म बाँच्ला, कोही छिट्टै ओइलाउला, त्यो भिन्न कुरा भयो । म लेख्ने मानिसलाई प्रेम गर्छु ।

कतिपय बजारमा कवि बिकेनन्, कविता बिकेनन्, कविताका पुस्तकै बिकेनन् भनेर पीडा बोल्छन् । के हाम्रो कविताको अवस्था यत्तिसम्मको निराशाजनक छ ?
मलाई त्यस्तो लाग्दैन । पीडा हुने काम त म सकेसम्म गर्नु नपरोस् भन्छु । अरूलाई पनि त्यस्तै लाग्दो हो । अर्को कुरा, कवि र कविता नबिक्दैमा निराश हुनुपर्छ भन्ने म ठान्दिनँ । किनभने, कविता मारामार बिक्ने चिज होइन । कविता त कति बिक्यो भन्दा पनि कविताले कुन समयमा के बोल्यो भन्ने महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ । बाँकी कुरा गौण हुन् ।
०००

प्रतिक्रिया दिनुहोस: