शनिबार, फाल्गुन १४, २०७३
Home / शिक्षा / पुस्तकालयसम्बन्धी नीति ल्याइने

पुस्तकालयसम्बन्धी नीति ल्याइने

काठमाडौं, ७ पुस ।
मुलुकमा मानिस प्रतिष्ठित पेसा वा पदको खोजीमा रहेका हुन्छन् । लाइबेरियन पेसालाई पनि सानो पेसाका रूपमा लिने मानसिकता नेपाली समाजमा अझै प्रचलनमा छ । के साँच्चीकै लाइबेरियन पेसा सानो पेसा नै हो त ?

विश्वका विभिन्न मुलुकमा लाइबेरियन पेसालाई विचार गर्ने हो भने ठूल्ठूला प्रतिष्ठित व्यक्तिले पनि लाइबेरियनको काम गरिसकेको तथ्य फेला परेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुुङ, इजरायलका पूर्वप्रधानमन्त्री गोल्डा मायर तथा बेन्जामिन फ्रयांक्लीजस्ता ठूल्ठूला नेताले पनि लाइबेरियन भई काम गरिसकेका छन् ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजले बुधबार आयोजना गरेको तीनमहिने पुस्तकालय तथा सूचना विज्ञानसम्बन्धी तालिमको उद्घाटन अवसरमा सो कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले ज्ञानको आधारशीला मानिने पुस्तकालय ज्ञान–चेतना दिने तथा दुर्लभ पुस्तक संग्रहित गर्ने मुख्य थलोको विकासका लागि भएको बताए ।

मन्त्री पौडेलले नेपालमा अझै पुस्तक तथा पुस्तकालयसम्बन्धी नीति नभएकाले सरकारले नीति निर्माणतर्फ जोड दिएको बताउँदै यसलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष डा. नारायण खड्काले सार्वजनिक पुस्तकालय विद्यार्थी, अनुसन्धानकर्ता तथा पाठकका लागि हिराको भण्डार भएको र यसले मुलुकको पहिचानको संरक्षण गरिरहेको बताए ।

गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले गोरखापत्र संस्थानमा ऐतिहासिक महत्त्वका दुर्लभ वस्तु संरक्षणमा चुनौतीपूर्ण रहेको बताए ।

तालिम संयोजक जुजुकाजी डंगोल, शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रतिनिधि यादवचन्द्र निरौला, डा. मोहन लोहनी तथा समाजका महासचिव तीर्थराज वन्तलगायत वक्ताले सार्वजनिक पुस्तकालयको महत्त्व र यसको चुनौतीमाथि प्रकाश पारेका थिए ।

१२ वर्षअघि स्थापना भएको त्यस पुस्तकालयमा हाल १ हजार ८ सय नियमित पाठक तथा ५० हजार थान पुस्तक रहेको छ । सो पुस्तकालय सञ्चालननिम्ति वार्षिक ३० लाख सरकारबाट उपलब्ध हुँदै आएको छ ।
–रासस

प्रतिक्रिया दिनुहोस: