बिहिबार, चैत्र १०, २०७३
Home / आर्थिक / जहाँ एक किलो नुनको मूल्य १८० रुपैयाँ पर्छ

जहाँ एक किलो नुनको मूल्य १८० रुपैयाँ पर्छ

सोलुखुम्बु, पुस ४ ।
धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको १ सय ८० रुपैयाँ पर्छ भन्दा । तर, सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता थेग्न बाध्य छन् । उनीहरू एक किलो आयोडिनयुक्त नुनको १ सय ८० रुपैयाँ तिर्छन् ।

यस्तै, उनीहरू प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य २ सय ४० देखि २ सय ५० रुपैयाँ प्रतिकिलोसम्म पर्छ ।

फोर्चेका आङछिरिङ शेर्पा भन्छन्, ‘यो हाम्रो बाध्यता नै हो, काठमाडौंभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ ।’ सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकप्टरमा स्याङ्बोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पु¥याइन्छ । अथवा सल्लेरीबाट खच्चरले पनि स्याङबोचेसम्म पुर्याउँछन् । फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् ।

आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् । वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसकेका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार त्यस भेगका प्रायः सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन् । सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ ।

यस गाउँमा ८५ परिवारको बसोबास छ । तर, हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् ।

महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एकपटक हिमाल चढेर पाएको करिब ३ लाख रुपैयाँले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेले त्यत्ति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ ।
–रासस

प्रतिक्रिया दिनुहोस: