बिहिबार, चैत्र १०, २०७३
Home / विचार / एक नालायक राजनीतिक कर्मीको साविती बयान

एक नालायक राजनीतिक कर्मीको साविती बयान

nirmal-bhattaraiएक नालायक राजनीतिक कर्मीको साविती बयान
– निर्मल भट्टराई

माननीय न्यायाधीशहरु

मतदाता अदालत,
नेपाल,

महोदय,
आज म यथेष्ट प्रमाणसहित यो सम्मानित अदालत समक्ष वारेण्ट पूर्जीसहित धेरै दिनको लखेटाइ पश्चात् साविती बयान दिन उपस्थित भएको छु । राजनीति गर्ने सिलसिलामा मैले जानी जानी गरेका गम्भीर गल्ती देहायबमोजिम छन् ।

१) मैले नेपाल र नेपालीको अहित हुने गरी कोही कसैसंग सन्धी सम्झौता गरिन ।
२) मैले कुनै विदेशी नेता, विशेष दूत वा राजदूतसंग कुनै पद बार्गेनिङ्ग गर्ने र खुल्ला मञ्च वा अरु मञ्चबाट चर्को राष्टवादी भाषण गर्ने दोहोरो चरित्र कहिल्यै प्रदर्शन गरिन ।
३) मैले कुनै वाद विशेष, गूट विशेष, क्षेत्र विशेष, लिङ्ग विशेष, जात विशेष, वर्ग विशेषको अन्ध पक्षपोषण गरिन ।
४) मैले कुनै नेता रिझाउन उसले उत्सर्जन गरेको अपान वायुको ूवास्ना”को चर्चा गरिन । कुनै नेताको देवत्वकरण गरिन ।
५) मैले कुनै धर्म, सम्प्रदाय,र भाषाको आडमा आफ्नो राजनीतिको रोटी सेक्ने प्रयत्न गरिन ।
६) मैले राजनीतिलाई कमाउ धन्दाको रुपमा बुझिन । राजनीति त्याग,वलिदान र जनसेवा हो भन्ने जीवन पर्यन्त बुझिरहने छु ।
७) मैले डनहरु जम्मा गरेर, हुलहुज्जत गरेर आफ्नो राजनीतिक प्रभाव जमाउने प्रयत्न गरिन । भन्सारमा गुन्डा सेटिङ्ग गरेर अकुत सम्पत्ति आर्जन गरिन । यसो गरेर समाज परिर्वतन हुन्छ भन्ने विस्वास जीवनभर नहुने प्रस्ट गर्न चाहन्छु ।
८) करोडौं खर्च गरेर, पैसाले मत किनेर चुनाव जितेका सांसदले प्रधानमन्त्री वा मन्त्री जे भए पनि जनताको सेवा गर्न सक्दैन । उसको ध्यान त्यही पैसा बटुल्नमा केन्द्रीत हुन्छ भन्ने अटुट विस्वास गरिरहें । जीवनभर यसमा कुनै फेरबदल नआउने ब्यहोरा समेत यो सम्मानित अदालतमा सविनय जाहेर गर्दछु ।
९) मैले राजनीतिको नाउँमा निर्दोष जनता बोकेर गुडिरहेको गाडीमा सबै जनता स्वाहा हुने गरी आगो लगाइन । पढाउदै गरेको शिक्षकको कक्षाबाट थुतेर अबोध विद्यार्थीको सामुन्ने हत्या गरिन । फरक मत राखेवापत पत्रकारलाई जिउँदै जलाईन, गाडिन । त्यस्तो काम गर्न कोही कसैलाई उकासिन ।
१०) मैले राजनीतिक क्षेत्रकाूगणेश”हरुको कहिल्यै पुजा गरिन बरु कर्मवीरूकुमार”हरुको पुजा ,प्रशंसा र प्रोत्साहन गरिरहें ।
११) मैले नेतालाई शासक र जनतालाई अवाञ्छित भीडको रुपमा कहिल्यै हेरिन । नेता सेवक र जनता मालिक बनाउने अभियानमा दिलचस्पी दिइरहें ।
१२) मैले लोकतन्त्र, मानव अधिकार र सामाजिक विरुद्धमा कुनै गतिविधि गरिन ।
१३) मैले राजकीय पदमा रहँदा कुनै किसिमको भ्रष्टाचार, कमिसन प्राप्ति वा अन्य कुनै किसिमको द्रव्यमोह देखाइन ।
१४) मैले आफ्नो जीवन सधैं सरल, पारदर्शी र जनताले सजिलै पढ्न सक्ने बनाई रहें ।
१५) राजनीति गर्ने क्रममा मैले मुखमा कालो पट्टी बाँधेर, बन्दुकको कुन्दा देखाएर र मध्यरातमा टेलिफोनमा धम्क्याएर चन्दा असुली गरिन ।
१६) मैले कहिल्यै निषेधको राजनीति गरिन । फरकमतको सम्मान गरिरहें ।
१७) मैले नातावाद कृपावादको पक्षपोषण गरिन । ूहाम्रा”लाईभन्दा ूराम्रा”लाई अधि बढाउन प्रयत्न गरिरहें ।
१८) जनतालाई चुनावको बेला सम्झने र अर्को चुनावसम्म विर्सने परम्परा मैले आत्मसात गर्न सकिन ।

माथि पेश गरेको विवरण ठीक साँचो हो झुटो ठहरे प्रचलित कानूनबमोजिम सहुँला बुझाउँला । जानी बुझी यति धेरै अक्षम्य गल्ती गर्ने व्यक्ति कुनै पनि हालतमा आगामी दिनमा नेपालको राजनीति गर्न योग्य हुदैन । त्यसकारण मलाई राजनीतिको लागि पूरै अयोग्य घोषणा गरी पाऊँ । आजसम्म मैले राजनीति गर्ने सिलसिलामा उल्लिखित गल्ती गरेर देशलाई के कति हानी नोक्सानी भएको छ, सोको क्षतिपूर्ति मेरो जायजेथाबाट र त्यसले नपुगे मेरा शाखा सन्तानबाट भराई पाऊँ ।

श्रीमान्को जो आदेश ।

प्रतिक्रिया दिनुहोस: